छापामा आजः ‘बुद्ध भारतमा जन्मेको’ प्रचार गर्दै कपिलवस्तुकै सांसद् !

By purnakhabar

October 11, 2018

२५ असोज, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार सम्पन्न भएकोलाई सबैजसोले लेखेका छन् । पाँच वर्षदेखि बन्द जयनगर–जनकपुर रेल सेवाको स्तरोन्नतिपछि सञ्चालनको तयारी गरिएको हो ।

काठमाडौं–७ को उपनिर्वाचनबारे आज पनि पत्रपत्रिकाहरुले चर्चा गरेका छन् । कुनैले नेकपाभित्र चुलिएको असन्तुष्टिमाथि समाचार लेखेका छन् भने केहीमा उपनिर्वाचन हुँदा लाग्ने खर्चबारेको हिसाब छ । पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै क्यालेन्डरबिनै संसद् चल्ने गरेको, पौडेल पक्षको चेतावनीपछि कांग्रेस बैठक स्थगित भएको, खानेपानी मन्त्रालयका करिब २ हजार कर्मचारीले तलब नपाएको लगायत हेडलाइनका समाचार छापिएका छन् ।

नयाँ पत्रिकाले स्थानीय विकासका नाममा तर्राइका फाँटदखि पहाडका पाखासम्म मनपरी सञ्चालन भइरहेका डोजरबारेको एक सामग्रीलाई मुख्य समाचारका रुपमा छापेको छ । नयाँ पत्रिकाका अनुसार जिल्लामा औषत २ सय डोजर चल्ने गरेका छन् । देशभर करिब १४ हजार डोजरले बाटो खनिरहेका छन् । रोचक त के छ भने त्यस्ता डोजरका मालिक स्वयं जनप्रतिनिधि र तिनका नातागोता छन् । नयाँ पत्रिकामै कपिलवस्तुकै सांसद् बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै हिँडेको समाचार पनि छ ।

नयाँ पत्रिका लेख्छ– प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचारमा सहभागी भएका छन् । उनी कमांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्कित राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद् साह विशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद् उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

समाचार अनुसार, कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद् गदम्बिका पाल तथा सांसद् साह विशिष्ट अतिथि थिए । सांसद् साहले कार्यक्रममा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको चर्को विरोध भएको समाचारमा उल्लेख छ ।

‘महँगीको मार’ शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ परेको, जनकपुरमा रेल आइपुगेको, काठमाडौं ७ मा उपनिर्वाचन गर्ने विषयले नेकपामा विवाद बढेकोलगायत समाचार छन् ।

अनलाइन खबरबाट