थारू र मधेसी समुदायमा पनि दशैंको उत्साह

By purnakhabar

October 10, 2018

२४ असोज, बुटवल । रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।

बुधबारदेखि सुरु भएको नवदुर्गामा उनीहरुले रुपन्देहीका विभिन्न ठाउँमा बाजागाजासहित नवदुर्गालगायतका भगवान्को प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको छ ।

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोदन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तीकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको शुद्धोदन गाउँपालिका–१ सिसैका स्थानीय बाबुराम पालले जानकारी दिए ।

उनले थारू तथा मधेशी समुदायले दशैंको टीका ग्रहण नगरे पनि हिन्दू परम्पराअनुसार पूजाआजा गरेर मन्दिरमा नै भगवान्को टीका ग्रहण गरिने उल्लेख गरे ।

स्थानीय पालले भने, ‘नवदुर्गा शुरु भएको दिनदेखि नौ दिनसम्म फलफूल तथा कन्दमूल खाएर दुर्गा भवानीको पूजा गरे सु-स्वास्थ्य, दीर्घायु, धनधान्य हुने धार्मिक विश्वास छ ।’

सैनामैना नगरपालिका–५ स्थित बक्सडमा थारू समुदायले बाजागाजासहित आज बर्दियाको गुलरियामा निर्मित दुर्गा भवानीलगायतका भगवान्को प्रतिमा स्थापना गरी पूजाआजा सुरु गर्न थालेका छन् ।

बाँस, पराल, काँटी, कपडालगायतका विभिन्न वस्तुबाट निर्मित प्रतिमामा कालीगढले दुर्गा भवानीको प्रतिमामा लगाएको कालोपट्टि खोल्न होडबाजी हुने स्थानीय फौजदार थारूले जानकारी दिए ।

उनले १५ हजारदेखि रु ५० हजारसम्म शुल्क तिरेर दुर्गा भवानीको कालोपट्टि खोल्ने र त्यसको पहिलो रोशनी जसलाई पर्छ त्यसको सबै मनोकामना पूरा हुने विश्वास रहेको छ । स्थानीय थारूले स्थापना गरेको सो प्रतिमामा थारू समुदायबाहेक अन्य मगर, ब्राह्मण, क्षेत्री समुदायका व्यक्तिले पनि पूजाआजा गर्ने बताए ।

‘हामीले दशैँको दिनमा टीका र जमरा लगाउँदैनाैं तर भगवान्प्रतिको आस्था अटुट छ’ थारू समुदायका अगुवासमेत रहनुभएका फौजदारले भने । सो प्रतिमाका लागि रु एक लाख खर्च हुने र त्यसको खर्च सामाजिक रुपमा उठेको रकम लगानी हुने बताइएको छ ।

अनलाइन खबरबाट