२३ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बुधबार) च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज (बुधबार) च्यासल युथ क्लब र मछिन्द्र क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टिम जितको खोजीमा हुने छन् । च्यासल युथ क्लब ए डिभिजन लिगमा डेब्यु टिम हो । मछिन्द्र क्लबको तुलनामा च्यासल बलियो टिमको रुपमा देखिएको छ । च्यासल युथ क्लबसँग अहिले राष्ट्रिय टिमका नियमित ३ जना खेलाडी छन् । विमल घर्तिमगर, देवेन्द्र तामाङ र हेमन्त थापामगर च्यासलसँग छ । यता, मछिन्द्रसँग भने अधिकांश ‘बी’ डिभिजन खेल्ने खेलाडी रहेका छन् ।
यसअघि २ खेल भएर बंगबन्धु गोल्डकपमा नेपालले भाग लिने भएपछि केही दिनको लागि लिग स्थगित भएको थियो ।
एन्फाले आइतबार नयाँ मिति सार्वजनिक गरेको हो । असोज २५ गते भने दुई खेल हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्रीस्टार क्लबसँग ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, यही दिन दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, असोज २६ गते पनि २ खेल हुँदैछन् । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अर्को खेलमा ब्रिगेट ब्वाइज क्लबले मनाङ मस्र्याङुदी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।