५ वर्षपछि जीविकोपार्जनकै लागि विदेशिनुपर्दैन : श्रममन्त्री विष्ट

By purnakhabar

October 08, 2018

२२ असोज, काठमाडौं । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि जीविकोपार्जनकै लागि विदेशिनुपर्ने बाध्यता नरहने दाबी गरेका छन् ।

‘पाँच वर्षमा वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न र नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्ने अभियानमा सरकार लागेको छ’, सोमबार राजधानीमा भएको ‘र्फक दाई र्फक’ नामक गीतको लोर्कापण कार्यक्रममा मन्त्री विष्टले भने, ‘हामी हाम्रो देशभित्रका अनेकन संभावनाहरुको खोजी गर्दै आर्थिक समृद्धि प्राप्त गर्ने र सुखी नेपालीको चाहना पुरा गर्नेतर्फ लाग्नुपर्ने छ ।’

श्रममन्त्री विष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो सहयोग गरेको भए पनि नेपालीहरुले सामाजिक मूल्य चुकाउनुपरेको उल्लेख गरे ।

‘रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग त पुर्‍याएको छ’, उनी भन्छन्, ‘तर सामाजिक मूल्य पनि चुक्दैछ ।’ उनले दक्षिण कोरिया जस्ता कुनैबेला नेपालभन्दा गरिब देशहरु छोटो अवधीमै आफ्नो देशको अर्थतन्त्र माथि उठाउन सफल भएको उल्लेख गरे । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित, भरपर्दो र मर्यादित बनाउन सरकार लागि परेको भन्दै मन्त्री विष्टले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किदा रोजगारीका अवसर प्रदान गर्न सक्नुपर्ने बताए ।

देश विकासमा राजनीतिक प्रतिवद्धता हुनु पनि महत्वपूर्ण पक्ष रहेको उनको भनाइ छ । ‘नेपालको समग्र विकासका लागि यो जात, त्यो जात, यो धर्म, त्यो धर्म, यो पार्टी त्यो पार्टी भनिदैन’, मन्त्री विष्टले भने, ‘देश विकासका लागि राजनीतिक प्रतिवद्धता हुनु महत्वपूर्ण पक्ष हो ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रलाई गाली नगरी योगदान गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे । विदेशमा बसेर नेपाली नेताहरुलाई गाली गर्ने तर, देशको विकासमा कुनै योगदान नगर्ने रोक्नुपर्ने उनले बताए । शर्माले नेपालमै पनि बरालिएर बस्नेहरुको जमात ठूलो रहेको उल्लेख गरे ।

अनलाइन खबरबाट