‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

By purnakhabar

October 07, 2018

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए ।

राजनीति सकिएपछि चलचित्रको प्रचारमा दौडिएको यसको टिम अहिले दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपासम्म चलचित्रको प्रचार आक्रामक तरिकाले यसका कलाकारले गरिरहेका छन् । तर, यो भीडमा नायिका दीपिका प्रसाई भने देखिएकी छैनन् ।

नायिका दीपिका प्रसाई चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रम बाहेक अन्त कतै पनि देखिएकी छिन् । निर्देशक दीपाश्री निरौला, कलाकारद्धय जितु नेपाल र केदार घिमिरे, गायिका एन्जिला रेग्मीले माहोल तताउँदा दर्शकले नायिकाको खोजी पनि गरिरहेका छन् । तर, नायिकाले भने आफ्नो उपस्थिती जनाउन आवश्यक ठानेकी छैनन् । वुझिएअनुसार, नायिकासँग चलचित्रको टिमको सम्बन्ध चिसिएको छ ।

चलचित्रकी एक्ली नायिका भएकाले पनि दीपिकाको डिमाण्ड प्रचारमा हुनु स्वभाविक हो । तर, दीपिकाले भने चलचित्र छायांकन सकिएपछि अन्तिम अवस्थामा किन ‘छक्का पन्जा ३’लाई वेवास्ता गरेकी हुन्, वुझ्न गाह्रो छ । यो चलचित्र असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुँदैछ ।

अनलाइन खबरबाट