Banner News

मलाई २० घण्टासम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिईयो: ओमप्रकाश पुन

By admin

October 06, 2018

असोज २०, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले आफ्नो पार्टी र पार्टीको विचारलाई जनताकोबीचमा लैजान सरकारले रोक्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाण्डौमा क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा’ विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नेकपामा आवद्ध भएकै कारण विभिन्न नेता कार्यकर्तामाथी सरकारले धरपकड गरिरहेको गुनासो गरे ।

उनले फरक विचार राखेकै कारण नेकपाका कार्यकर्तालाई घरबाट, बाटोबाट, कार्यक्रमबाट गरिफ्तार गरिरहेको बताए । उनले भने,‘ अहिले हामीलाई नेकपाकै कार्यकर्ता भएका कारण जहाँ पायो त्यहीबाट पक्राउ गरिएको छ, कहाँ छ अभिव्यक्ति स्वतन्त्रता ? कहाँ छ राजनीति गर्न पाउने अधिकार ?’ झण्डै ३ महिना प्रहरी हिरासतमा रहेका पुनले आफूलाई २० घण्टासम्म आखामा पट्टी बाँधेर राखेको बताए ।

उनले भने ‘मलाई पक्राउ गरेर २० घण्टासम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिईयो, सुत्दापनि आँखामा पट्टी बाँधियो ।’ पोलिटब्युरो सदस्य पुनले युद्धकालमा मानवअधिकारका क्षेत्रबाट अनुगमन भएपनि अहिले कुनै अनुगमन नभएको उल्लेख गरे । उनले भने ‘ यो त युद्धकालको भन्दा पनि बढी भयो ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तेजबहादुर केसीले जनतामाझ आफूहरुलाई कुरा लैजान नदिएर सरकारले निरङ्कुशता देखाएको आरोप लगाए । उनले केपी शर्मा ओली र प्रचण्डहरु बैचारिक रुपमा प्रतिस्प्रधा गर्न नसकेर आफूहरुलाई राजनीतिक अधिकारबाट बन्चित गरिएको आरोप लगाए।

उनले भने,‘हामीलाई जनताकाबीचमा विचार राख्न दिईएको छैन, राजनीति गर्न पाउने अधिकार, संगठित हुन पाउने अधिकार र बैचारिक प्रतिष्प्रधा गर्न पाउने अधिकार खोस्नुभएको छ । उनीहरु बैचारिक प्रतिष्प्रधा गर्न सक्दैनन् त्यसैले हामीलाई रोक्ने प्रयास भएको छ ।’

भिडियो हेर्नुस 

Source link