कांग्रेसलाई ईश्वर पोखरेलको कटाक्ष- संविधान कार्यान्वयनको पहल नगर्ने को हुन् ?

By purnakhabar

October 06, 2018

२० असोज, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणमा केन्द्रित हुनु परेकाले सरकारका अरु काम प्रभावकारी नभएको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसप्रति संकेत गर्दै उनले संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए।

काठमाडौंमा शनिबार बिहान आयोजित नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विगतका सरकारले संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माण नगरेकाले अहिलेको सरकारको ध्यान त्यसमै केन्द्रित भइरहेको बताए ।

प्रमुख प्रतिपक्षी कांग्रेसतर्फ लक्षित गर्दै पोखरेलले भने, ‘तीन वर्षअघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन् ?’

उनले काठमाडौंको ढल, सडक, खानेपानीलगायतका संस्थाहरुको संरचना अन्तरविरोधी रहेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने दाबी गरे । उनले अहिले सरकारको आलोचना नगर्न पनि सबैलाई आग्रह गरे ।

अनलाइन खबरबाट