भ्रष्ट्र मानसिकता त्यागौं, सातु खाएर काम गराैं: मुख्यमन्त्री शाही

By purnakhabar

October 05, 2018

१९ असोज, कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको बताए ।

भ्रष्ट्राचारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउँदै मुख्यमन्त्री शाहीले भने,  ‘कामै नगरी गोजीमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’

भ्रष्ट्राचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढ्न थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गरे ।

स्थानीय जनप्रतिनिधिहरुलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले भने, ‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं ।’

कर्णालीको समृद्धिका लागि सबै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफूले पनि ढुंगा वोक्ने गरेको उनको भनाइ छ ।

मुख्यमन्त्रीले ढुंगा बोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफूलाई थाहा भएको वताउदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हासिल नहुने बताए ।

मुख्यमन्त्री शाहीले आफ्नो क्षेत्रको विकासका लागि कसैको भर नपर्न समेत आग्रह गरे । संसारका सबै राष्ट्र आफनो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएको बताउँदै उनले भने, ‘अब कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफै उत्पादन र श्रममा लागौं ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार मन्त्री खडकवहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाहीको समेत उपस्थिति रहेको थियो ।

अनलाइन खबरबाट