जीवन, बहुमूल्य लाग्छ । किनकी, यसको शुरुवात कसरी भयो ? कहाँबाट आयो ? र कसरी टुंगिन्छ ? कसैलाई थाहा छैन । यो रहस्य नै अभूतपूर्व छ । शायद यही रहस्यका कारण जीवन झन बहुमूल्य लाग्छ ।
जीवन आफैंमा बहुआयामिक चक्रमा जेलिएको जालोजस्तो देखिन्छ । जीवन कसरी जीउने हो र कुनचाँहि बाटो उत्तम हो कोही बताउन सक्दैन । मान्छे, शायद आफै समस्या सिर्जना गर्छ अनि त्यसैको समाधानमा जिन्दगी ब्ािताउँछ । मान्छे मान्छेमा फरकचाहिँ, उ कसरी जिन्दगीको उपयोग गर्छ, त्यो शायद बढी महत्वपूर्ण हो ।
धर्म, शायद मान्छे आफैंले धारण गरेको अवधारणा हो, जहाँ मानिसहरुको झुण्ड एउटा सफल मान्छेलाई भगवान बनाएर त्यही वृत्तमा घुमिरहन्छन् । वृत्तभन्दा माथि उठ्न सक्दैनन् । यस्ता थुप्रै समूह झुण्डको पछि लाग्नु नै धार्मिक भएको अनुभव गर्छ मान्छे । मन्दिर, मस्जिद, चर्चमा जानु, फूल चढाउनु अनि मूर्त-अमूर्त आकृतिहरुलाई आफ्नो कमजोरी बताउनु, हुनै नसक्ने पाउनै नसकिने चिजको आशा गर्नु मानिसका कमजोरी मात्रै हुन् ।
उसले मान्ने भगवान त उजस्तै सफल मान्छे हुनुपर्छ, जो समाज कल्याणको शिखरमा पुगेको हो आफ्नो आध्यात्मिक तथा भौतिक उचाइका साथ ।
अध्यात्म, शायद आन्तरिक शिक्षाको प्रर्वधक हो, जो मानिसको आन्तरिक ज्ञानको राम्रो अभिवृद्धि गर्न सक्छ । विज्ञान भन्छ एउटा सामान्य मान्छेले करिब १० प्रतिशतजति मात्रै आफ्नो दिमागी क्षमताको परिचालन गर्न सकेको हुन्छ । करिब ९० प्रतिशत क्षमता निष्क्रिय रहन्छ ।
समाजमा भगवानका रुपमा पूजिनेतिनै मान्छे हुनुपर्छ, जो दिमागी क्षमताको धेरै भन्दा धेरै प्रतिशत परिचालन गर्न सक्छन् र सामान्य मान्छेले भन्दा कैयौं गुणा असम्भव लाग्ने कामहरु सम्पादन गरेर देखाएका छन् । जस्तै-शंकराचार्य, जसले ३२ बर्षको उमेरभित्रै भारतवर्षमा चारवटा मठको व्यवस्था गरे, स्वामी विवेकानन्दले जवानीमै संसारलाई शून्यवादको अर्थ बुझाए ।
हाम्रा मोतीराम भट्टले ३० बर्ष नपुग्दै नेपाली साहित्यलाई लोकपि्रय बनाए, नेपालीका सधैका हिरो भए । सिध्दार्थ गौतम २९ वर्षको जवान राजकुमार, राजदरवार छाडेर अध्यात्मको, आन्तरिक शिक्षाको खोजीमा लागे र ज्ञान प्राप्त गरे । भगवानका रुपमा पुजिए ।
यी सबै उदाहरणका पछाडिको एउटै रहस्य हुन सक्छ-उनीहरुले विकास गरेको आन्तरिक शक्ति, दिमागको अधिकतम उपयोग । शायद यस्तै व्यक्तिलाई सिद्ध पुरुष भनिन्छ, जो दिमागको अधिकतम उपयोग गर्न सक्छन् । समाजलाई डोर्याउन सक्छन, गति दिन सक्छन, सामाजिक आर्थिक सिद्धान्तहरुको विकास तथा परिपालन गराउन सक्छन् ।
यसबाट के प्रष्ट हुन्छ भने मानव क्षमता अथाह शक्तिको सागर हो । मात्रै यसको भरपूर र उचित उपयोग र परिचालन महत्वपूर्ण हुन्छ । तर, हाम्रो साँस्कृतिक अभ्यास कस्तो भयो भने भगवानको पूजा गर्ने, तर कोही भगवान हुने बाटो अर्थात आन्तरिक आध्यात्मिक क्षमता अभिवृद्धिमा लाग्यो भने पाइला रोक्ने ।
यो खालको द्वैध संस्कारमा हामी र हाम्रो समाज अल्मलिएको देखिन्छ । यस्तो लाग्छ, हामी जान्ने भन्दा पनि मान्ने संस्कारमा बढी जेलिएका छौं । मन्दिरमा गयो फूल चढायो आयो, तर फूल चढाएर हुने के हो, हामी जान्नेतिर छैनौं । मात्रै औपचारिकतामा हाम्रा धेरै कार्यहरुको परिपालना भइररहेको छ । अर्थात परम्परा धान्ने काम भइरहेको छ ।
परम्परा धान्नेभन्दा पनि परम्पराको शुद्धीकरण र यसको सभ्य उपयोग ठूलो कुरा हो । राम्रो सभ्यता यस्तै परम्पराहरुको बर्षौंको शुद्धीकरणको फल हुनुपर्छ । सभ्य समाज छोटो समयमा बन्दैन, यो लामो शुद्धीकरणको अभिव्यक्ति हो । मानिसको दैनिकीका सरसफाइदेखि समाजसँगको सहकार्यमा झल्किने मानवताका अभ्यासहरुको कमीकमजोरी नेपाली समाजका हालका समस्या हुन् ।
मानव विकास सूचकाङ्कको अध्ययन गर्दा शिक्षा, स्वास्थ्य, आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठा महत्वपूर्ण विषय मानिन्छन् । तर, विकसित मुलुकहरुप्रतिको आकर्षण मुख्यतः सभ्य समाजको अभ्यास नै हो । विकसित मुलुकका नागरिक आफ्नो अधिकार प्रति सचेत छन्, प्रजातान्त्रिक अभ्यासमा छन् । तर, आफ्नो अधिकारको उपयोग गर्दा अरुको सम्मानमा त्यतिकै सचेत छन् ।
यसरी बुझ्दा प्रजातान्त्रिक जीवन पद्दति सबैभन्दा कठिन हो जस्तो लाग्छ । तर, हामीले स्वतन्त्रताको अर्थ स्वच्छन्दता भनेर बुझेको जस्तो लाग्छ । विकसित देशका नागरिक आफ्नो वार्तालापले अरुलाई पर्ने असरलाई समेत विचार पुर्याउन सकेको पाइन्छ । शायद प्रजातन्त्रको, सभ्य समाजको उत्तम अभ्यासको अनुकरण हुन सकेको अवस्था हो त्यो ।
प्रजातन्त्रको अभ्यासमा जुटेका हामी सार्वजनिक यातायतमा समेत सबैलाई दिक्क बनाउने गरी चर्को-चर्को स्वरमा नितान्त ब्यक्तिगत वार्ता प्रसारण गर्नमा गर्व गछौैर्ं । प्रजातन्त्र शायद उत्कृष्ट सभ्यता हो जहाँ मानवीयताको उत्कर्ष अनुभव गर्न पाइन्छ । सभ्य समाज सफल प्रजातन्त्रको उदाहरण हुनुपर्छ । मानिसको आकर्षण सफा घर, सफा बाटो, नदीनाला, वस्तीसँग छ ।
आर्थिक सम्पन्नतासँगै समाज परिष्कृत हुँदै, सभ्य हुँदै जान सकेन भने असभ्यहरुको जमात हावी हुने अनि देश सधैं तेस्रो मुलुककै श्रेणीमा रुमलिरहन सक्छ ।
सभ्य समाजको कल्पना गर्दै गर्दा मान्छे-मान्छेवीच कोरिएका छुवाछुत, लैङ्घकि विभेद लगायत सबै अमानवीय व्यवहार यसका अवयव हुन सक्दैनन् । कार्यक्षमताका आधारमा वर्गीकरण गरिएका श्रम विभाजन पद्दति ब्राम्हण, क्षेत्रीय, वैश्य अनि शुद्रलाई जातीय पद्दतिसँग गाँसेर नेपाली समाजलाई साँघुरो बनाइएको छ । यी मानिसले आफ्नो चाहना, क्षमता अनुसार अंगाल्ने कार्य पद्दति हुन् ।
ब्राह्ण त्यो व्यक्ति हो, जो पढ्ने लेख्ने कुरामा चाख राख्छ, पठन-पाठनलाई कार्यपद्दतिको माध्यम बनाउँछ र समाजमा विचार संप्रेषणमा रुची राख्छ, त्यसैलाई जीवन पद्दतिको माध्यम बनाउँछ । कुनै जातसँग यसको सरोकार छैन, ब्यक्तिको रुचि र क्षमताको कुरा हो यो ।
त्यसैगरी क्षेत्रीय त्यो रुचिवान ब्यक्तित्व हो, जो फौजी काममा लगन राख्छ । शान्ति सुरक्षाको कर्ममा रुचि राख्छ, जोखिमपूर्ण कार्यमा रुचि राख्छ र त्यस्तै कार्यमा आफ्नो कार्यपद्दति जोड्दै लैजान्छ ।
वैश्य, ब्यापार ब्यवसायको अभिकर्ता हो । शायद उद्यमि हुन रुचाउने मान्छे हो । ऊ ब्यापार-ब्यवसायमा रमाउँछ अनि यसैलाई बाँच्ने जीवन पद्दति बनाउँछ ।
अब शुद्रको कुरा गरौं, शुद्र, विकास निर्माणमा चासो राख्ने विशिष्ठ कलाकर्मीहरु हुन्, समाजका पूर्वाधार निर्माणका अभियन्ता हुन् । कोही श्रमिक भएर समाज निर्माणमा अगुवाई गर्छन् त कोही प्राविधिक भएर । यसरी हेर्दा कहाँ छ त जातीय विभेद ? तर, हामीले यस्तो वैज्ञानकि सामाजिक वर्गीकरणलाई जात वंशमा राखेर साँघुरो पार्यौं । समाजमा असभ्य जातिय रेखाको कल्पना गर्यांै अनि त्यसैलाई जीवन पद्दति बनाएर हिँड्यौं ।
धर्म, अध्यात्म, कार्यपद्दति, राजनैतिक पद्दति के छैन हामीसँग ? प्रकृति, विधिले सबै व्यवस्था गरेकै हो हामीले यसलाई संयोजन नगरेर विक्षिप्त बनायौं । जीवन सुन्दर छ, हुन सक्छ भन्नु भन्दा पनि कठिन जीवनको परिकल्पना गराउँदै केही मान्छेहरु यसैमा राज गर्ने भए, विभिन्न नाममा, त्यो गलत हो ।
संसार फूलैफूलको वासनाले सुगन्धित हुन सक्छ । अध्यात्म ध्यानको उर्जाले आल्हादित हुन सक्छ । भाइचाराको सहभावनाले बस्ने योग्य ठाउँ हुन सकछ । जीवन कठिन छँदै छैन, मात्रै जीवन भोग्ने सबैले एक-अर्काको भावनाको कदर गर्न सक्नुपर्छ, ईच्छाभन्दा आवश्यकतामा रमाउने संस्कारको विकास गर्नुपर्छ ।
विधिले सबैलाई पुग्ने गरी दिएको छ । मात्रै हामीले सदभाव बाँड्न सक्नुपर्यो । स्रोत साधनमा न्यायिक पहुँच हुनुपर्यो । माया ममता बाँड्न सक्नुपर्यो । अनि आवश्यकीय भौतिक सुख सुविधामा रमाउन सक्नुपर्यो । अनि जीवन बग्छ कलकल । कलकल ।