कांग्रेसले स्पष्टीकरण सोधेकोमा पालिखेको असन्तुष्टि

By purnakhabar

October 05, 2018

१९ असोज, पोखरा । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले नेपाली कांग्रेस कास्कीले आफूलाई स्पष्टीकरण सोधेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघको चुनावको विषयलाई लिएर पार्टी हित विपरीत कार्य गरेको भन्दै पालिखेलाई स्पष्टीकरण सोधेकोप्रति उनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले संघको चुनावमा नेकपा निकटका उम्मेद्वार दामु अधिकारी निर्वाचित भएलगत्तै पालिखेलाई पार्टी हित बिपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । जवाफमा पालिखेले स्पष्टीकरण सोध्नुको कारण स्पष्ट नभएको भन्दै स्पष्ट पारिदिन भन्दै पत्र लेखेका थिए ।

पत्रकार सम्मेलनमा पालिखेले अघिल्लो चुनावमा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आफूविरुद्ध पार्टीलाई प्रयोग गरेको र हालको चुनावको केही अघि भएको आन्तरिक बैठकका क्रममा सभापति केसीले माफी मागेको दाबी गर्दै भनेे, ‘सभापति केसी ज्यूले दाई मैले अघिल्लो पटक तपाईंमाथि अन्याय गरेकै हुँ, मैले तपाईंलाई सहयोग नगरेर अर्कोलाई सहयोग गर्नु गल्ती थियो भन्दै दुई हात जोडेर माफी माग्नुभयो ।’

उनले विगतमा भूल भएको स्विकार्दै पार्टी सभापति केसी स्वयम्ले माफी मागेको अवस्थामा आफूलाई चुनावी परिणामबारे दोष लगाउन खोज्नु उपयुक्त नहुने जिकिर गरेका छन् ।

अनलाइन खबरबाट