१८ असोज, काठमाडौं । काठमाडौंको एपेक्स कलेजमा हालै लघुवित्त सम्बन्धि ‘माइक्रोफाइनान्स इन एक्सन’ कार्यशाला गोष्ठी सम्पन्न भएको छ । २०७२ सालदेखि इटलीको पादोभा युनिभर्सिटीर एपेक्स कलेजले संयुक्त रुपमा संचालन गर्दै आएको उक्त कार्यशाला गोष्ठीको यो चौथो संस्करण भएको कलेजले जनाएको छ ।
पाँच दिने गोष्ठीमा पादोभा युनिभर्सिटीबाट मानव अधिकार संकायको स्नातकोत्तर तहमा अध्ययनरत ८ जना विद्यार्थीहरु तथा एपेक्स कलेजका एमविए तहमा अध्ययनरत ८ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
उक्त कार्यशाला गोष्ठीको प्रमुख उद्देश्य लघुवित्त कार्यक्रमको उपादेयता तथा प्रभावकारिता बारे छलफल गर्नु तथा यस्ता कार्यक्रमले मानव अधिकार, महिला अधिकार, उद्यमशिलता र समग्र जीवनस्तर तथा जीवन शैलमिा के कस्तो प्रभाव पार्छ भन्ने बारे वृहत छलफल गर्नु रहेको आयोजक बताउँछ ।
कार्यक्रम संचालनको क्रममा सहभागीहरुलाई लघुवित्तको वारेमा युरोप र नेपालमा भइरहेको संचालन प्रक्रिया, विकासक्रम तथा हालको अवस्थावारे पादोभा युनिभर्सिटीको तर्फबाट प्रोफेसर अलवर्टो लान्जाभेकिया तथा एपेक्स कलेजका तर्फबाट प्राध्यापक किशोर ढुङ्गानाले सहजीकरण गरेका थिए ।
स्थलगत अनुभवका लागि सहभागी विद्यार्थीहरु आमासमूहको कार्यशैली वारे जानकारी लिन ललितपूरको ठेचो तथा वनेपा स्थित वचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए ।
यस क्रममा युरोपका मानव अधिकार व्यवस्था र हालको अवस्था तथा त्यसमा लघुवित्तको प्रभाव बारे इटलीका विद्यार्थीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपालका तर्फबाट एपेक्स कलेजका विद्यार्थीहरुले लक्ष्मी लघुवित्तिय संस्थाको भैँसेपाटी स्थित शाखाबाट सेवा पाइरहेका लधुवित्त ग्राहकहरुका वारेमा गरिएका खोजमूलक अध्ययन प्रतिवेदनलाई यस कार्यशालामा प्रस्तुत गरेका थिए ।
यस कार्यक्रममा नेपालको लघुवित्तको वारेमा सेन्टर फर माइक्रो फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत नरेश नेपालले लघुवित्तका महत्वलाई प्रकाश पार्दे यसको चुनौती तथा अवसरका वारेमा सहभागीहरुलाई जानकारी गराए ।
कार्यक्रमको प्रभावकारिताको वारेमा बताउँदै एपेक्स कलेज एमविए मा अध्ययनरत छात्रा मन्जु मुडभरीले विद्यार्थीहरुका व्यक्तित्व विकासमा ठोस योगदान पुर्याएको, कक्षाकोठा भन्दा वास्तविक जिवनमा भईरहेको प्रभाव वारे जानकारी हासील भएको भन्दै खुशी व्यक्त गरिन ।