असफल चलचित्रका सिक्वेलको गफ

By purnakhabar

October 04, 2018

चलचित्र ‘फाटेको जुत्ता २’, निर्माता अर्जुन कुमारले प्रेसमिट नै आयोजना गरेर भने अनुसार बनेको भए, गतबर्षको अन्तिम दिनमा नै रिलिज हुने थियो । तर, ‘फाटेको जुत्ता’ले औषत व्यापार गरिरहदा हिट भयो भनेर पत्रकार सम्मेलन आयोजना गरेर यसको सिक्वेल घोषणा गरेका अर्जुन कुमारले यसपछि चलचित्र बनाउने तयारी गरेका नै छैनन् । आखिर, उनको त्यो हतारको घोषणाको अर्थ के थियो होला ?

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ हलमा चलिरहेको समयमा केक काट्ने नाटक पनि चलिरहेको थियो । सोही समयमा निर्देशक विशाल भण्डारीलाई यसका निर्माताले ‘कोहलपुर एक्सप्रेस २’ उपहार दिएको खबर यसको निर्माणपक्षले नै फैलाएको थियो । चलचित्र असफल भैरहेको समयमा यसको सिक्वेल उपहार, कुरा वुझ्न त्यती सोच्न नै पर्दैन ।

नायिका ऋषा शर्माले पनि हरर भनेर प्रचार गरेको तर दर्शक हसाएको चलचित्र ‘सुनकेशरी’को सिक्वेल बनाउने घोषणा गरिन् । यो चलचित्रको सिक्वेलको घोषणा पनि हतारमा नै गरिएको थियो । विना तयारी हतारमा उनले घोषणा गर्नुको अर्थ, वुझ्न गाह्रो छैन ।

सिक्वेल ती चलचित्रको बनाइन्छ, जसले बक्स अफिसमा कमालको व्यापार गरेका हुन् । दर्शकको मनमा बसेका चलचित्रको सिक्वेल बनाउदा तीनले कमाई पनि राम्रो गर्छन् । उदाहरणका लागि ‘छक्का पन्जा, नाई नभन्नु ल’ लगायतका चलचित्रको उदाहरण हेर्न सकिन्छ ।

चलचित्र ‘भैरे’ले नेपालबाट मात्र ५० लाख भन्दा बढी घाटा व्यहोरेको खुलासा त यसका वितरक सुनिल मानन्धरले गरिसकेका छन् । यो चलचित्रले ५० लाख भन्दा बढी घाटा व्यहोर्दा पनि निर्माता र निर्देशकले सक्सेस पार्टीको आयोजना गरेका थिए । सक्सेस पार्टीमा यो चलचित्रको सिक्वेल बनाउने घोषणा पनि गरिएको थियो । आखिर, असफल चलचित्रको सिक्वेलको घोषणा किन गरिएको होला ?

चलचित्र ‘मुखौटा’को कुरा धेरै भैसकेको छ । यो चलचित्र बक्स अफिसमा ध्वस्त भैरहदा यसका निर्माताले प्रेस विज्ञप्ती नै निकालेर ‘मुखौटा २’ सुरु गर्ने बताए । दर्शकको गाली खाएर निर्मातालाई खपिनसक्नु भएको समयमा उनले मिडिया र दर्शकको ध्यान मोड्न यसको सिक्वेलको घोषणा गरेका थिए । यो चलचित्रको सिक्वेल बन्छ भन्ने कुरा कसैले पनि पत्याएनन् ।

यी बाहेक थुप्रै उदाहरण छन्, जहा फ्लप चलचित्रका निर्माताले त्यसको सिक्वेल बनाउने भनेर दर्शक हसाएका छन् । सिक्वेल किन बनाउने, किन बनाइन्छ भन्ने नवुझेरै असफल चलचित्रको ध्यान मोड्न गरिने यस्ता वेतुकका घोषणाको कुनै तुक छ र ? तर पनि यो चलचित्र क्षेत्र हो, कि पर्दामा कि पर्दा बाहिर दर्शक हसाउने काम भइनै रहन्छ ।

अनलाइन खबरबाट