१७ असोज, पाँचथर । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ ।
पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर जान थालेका हुन् । पहिला गाउँपालिकाको माथिल्लो भेगमा पानीको मूल सुकेको र अहिले तल्लो भेगमा समेत पानीको मुहान पूरै सुकेको र पानी समेत पर्न छोडेपछि खडेरीनै लागेको छ । अधिकांश मानिस यही कारणले झापा, धरान, दमक र जिल्ला सदरमुकाम बसाइँ सरिरहेका छन् ।
पानीका मुहान सुकेपछि धारामा पानी आउन छाडेकाले बसाइँसराइको विकल्प नभएको यामबहादुर ढुङ्गानाले बताए । बसाइँ सरेर गए पनि आफूहरुले घर जग्गा नबेचेको बताउनुहुन्छ ढुङ्गाना । ‘घरजग्गा त्यत्तिकै छोडेर हिँडियो, बाउ बाजेको सम्पत्ती बेच्न माया लाग्छ’, उनेले भने, ‘पानी नभएपछि के गर्ने रु बाबुआमा निकै टाढादेखि पानी पिठ्युँमा बोकेर खान्थे ।’