मेस्सीको गोल रेकर्ड तोड्ने ह्यारी केनको आशा

By purnakhabar

October 03, 2018

काठमाडौं । टोटनहृयामका स्ट्राइकर हृयारी केनले लिओनल मेस्सीको गोल रेकर्ड आफूले तोड्ने आशा व्यक्त गरेका छन् । २५ वर्षीय केन बुधबार राति मेस्सीविरुद्ध मैदानमा हुनेछन् ।

च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र टोटनहृयामको भिडन्तपूर्व उनले भने, ‘मेस्सी हामीलाई एउटा स्ट्याण्डर्ड सेट गरेका छन्, जसले मलाई अझ राम्रो गर्न उत्प्रेरित गर्छ । आशा गर्छु कि कुनै दिन म उनकोभन्दा धेरै वा बराबरी गोल गर्नेछु ।’

पछिल्लो तीन सिजनमध्ये दुईमा केन प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन् । साथै रुस विश्वकपमा उनले गोल्डेन बुटसमेत जिते । पछिल्लोपटक हडर्सफिल्डविरुद्ध दुई गोल गरेपछि टोटनहृयामका लागि उनको गोलसंख्या १४५ पुगेको छ ।

तर, उनी मेस्सीभन्दा कोसौं टाढा छन् । मेस्सीले बार्सिलोनाका लागि ६४६ खेलमा ५६० गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमै पनि उनको गोल संख्या १०३ छ । ‘जब एकै सिजनमा ५०/६० गोल गरे, त्यसबेला नै मेस्सी र रोनाल्डो सामान्य भन्दा माथि गए’ इंग्ल्याण्डका कप्तान समेत रहेका केनले भने ।

‘एउटा खेलाडीका रुपमा तपाईले विश्वकै उत्कृष्ट खेलाडीविरुद्ध खेल्न चाहनुहुन्छ र मेस्सी त्यही हुन् । उनलाई रोक्न हामी आफ्नो तर्फबाट सक्दो गर्छौं ।’

अनलाइन खबरबाट