टोकियो । १५ वर्षपछि भएको नेपाली हाइकु महोत्सवले ८ बुँदे टोकियो घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रले जापान र नेपाल बीचको सम्बन्धलाई कला साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्ध बिस्तार गर्न सकिने विश्वास गरेको छ ।
कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजु उपास्थिति थियो ।
उक्त कार्यक्रममा नेपाल, बेलायत र जापानका लेखक तथा हाइकु कविहरुको उपस्थिति थियो । घोषणा पत्रमा नेपाल र जापानको सम्बन्धलाई जन स्तरमा पुर्याउन साहित्यले सेतुको काम गर्ने बताइएको छ ।
भविष्यमै नेपालमा अन्तराष्ट्रिय हाइकू महोत्सब गर्ने,नेपाली हाइकूलाई प्रवर्धन गर्न जापानका चर्चित कृतिहरुको अनुवाद गर्ने,हाइकू अभिमुखीकरण तालिमको ब्यबस्था गर्ने,हाइकू केन्द्रको बेलायत र जापानमा शाखा बिस्तार गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमा बोल्दै वर्ल्ड हाइकू अशोसिएसनका अध्यक्ष बान्या नाचुइसीले जापानमा सुरु भएको हाइकू नेपालमा बिकसित भएको सुन्न पाउँदा आफू खुसी भएको बताउंदै चाडै नै नेपालमा अन्तराष्ट्रिय हाइकू कार्यक्रममा आफू सहित जापानी हाइकु कविहरु सहभागी हुन इच्छुक रहेको बताए ।
कार्यक्रममा नेपाली नेपाली हाइकु केन्द्रका अध्यक्ष प्रा रामकुमार पाँडेले हाइकुमा शंकर लामिछानेको योगदान सम्झदै डा अभि सुवेदी,क्षेत्र प्रताप अधिकारी हुँदै हाइकुले नेपालमा विकास हुन पाएको बताए ।
प्रा. रामकुमार पाँडेको नेतृत्वमा नेपालबाट अश्विनी कोइराला,शिरोमणि दवाडी,विजयराज आचार्य,किरण पौडेलको सहभागीता रहेको थियो भने बेलायतबाट हाइकु कवि एवम नियात्राकार कृष्ण बजगाईंको उपस्थिति रहेको थियो ।
हाइकू महोत्सबमा विभिन्न श्रष्टाका एक अंग्रेजी सहित नौ वटा हाइकूका पुस्तक बिमोचन गरिएको थियो ।विमोचित कृतिहरुमा प्रा. रामकुमार पाँडेको हन्टिंग हाइगा(अंग्रेजी ), नेपाली हाइकू केन्द्रको प्रकाशन नेपाली हाइकू (पत्रिका),ऋषि बरालको फुजीको फेद(हाइकू संग्रह),किरण पौडेलको नाइलको सहारा ( (हाइकुसंग्रह ), सिक्स सिग्नेचर(नेपाली लेखक कविको अंग्रेजी अनुवाद ),प्रकाश पौडेल माइलाको रातो साकुरा (हाइकुसंग्रह),कृसु क्षेत्रीको निलो आँसु ( (हाइकुसंग्रह),डा. रुपक श्रेष्ठको बुट्टे किमोनो (हाइकुसंग्रह), कृष्ण बजगाईंको कुमारी रात (हाइकुसंग्रह)बिमोचन गरिएको थियो ।
नेपाल हाइकू केन्द्र र अन्तर्राष्ट्रिय साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन प्रकाश पौडेल माइलाले गरेका हुन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष्य भवन भट्टले नेपाली हाइकु बिकासमा आफूले सक्दो सहयोग गर्ने बताएका थिए । त्यसैगरी जापान स्थित नेपाली दुतावाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपाल जापान सम्बन्धमा साहित्यले सेतुको भूमिका खेल्ने घोषणा पत्रको स्वागत गर्दै यसमा राजदूतावासको सक्रिय सहयोग रहने बताए ।
कार्यक्रममा प्रा. राम कुमार पांडे र प्रकाश पौडेल माइलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने दुई दर्जन भन्दा बढी श्रष्टाले हाइकु वाचन गरेका थिए ।नेपाल तथा बेलायतबाट आएका साहित्यकारका टोलीले ओसाका र हिरोसिमामा पनि साहित्यिक कार्यक्रम गर्ने कुरा बताइएको छ ।
दुई दिन चलेको उक्त महोत्सवमा आयोजक कमिटिका अनेसासका जापान च्याप्टरका अध्यक्ष दिप पाठक,गैर आवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरे,अनेसासका पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत,अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा, रबिन शर्मा, धिषण निरौला तथा आइडिया फर नेपालका तर्फबाट हंगकंगकी चिङ्ग चिङ्ले पनि बोलेका थिए ।