एक महिनामा ८० अर्ब तरलता प्रशोचनः राष्ट्र बैंक

By purnakhabar

September 30, 2018

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनामा ८० अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैंकमा लगानी योग्य रकम पर्याप्त देखिए पछि एक महिनाको अवधिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट साउन महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत ८० अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ७९ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् ७० करोड रुपैयाँ प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने ७३ अर्ब ५० करोड तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

समिक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ८ करोड ७८ लाख खुद खरिद गरी ९ अर्ब ६९ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १८ करोड २९ लाख खुद खरिद गरी १८ अर्ब ७४ करोड रुपैयाँ राष्ट्र बैंकले तरलता प्रवाह गरेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलर ३२ करोड, यूरो १ करोड ६० लाख र पाउण्ड स्टर्लिङ्ग २ करोड बिक्री गरी ४० अर्ब १९ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३० करोड बिक्री गरी ३० अर्ब ७७ करोड रुपैयाँ बराबरको भारु खरिद भएको थियो ।

अनलाइन खबरबाट