बैंकको ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

By purnakhabar

September 30, 2018

१४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको पुष्टि गरेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो महिनासम्ममा भने यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.४ प्रतिशतले, ट्रष्ट रिसिप्ट (आयात) कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको छ ।

समग्रमा भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.४ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.२ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ ।

अनलाइन खबरबाट