मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई भेटनरी काउन्सिलले मान्यता नदिने

By purnakhabar

September 30, 2018

१४ असोज, काठमाडौं । मापदण्डविनै सञ्चालित कृषि कोर्षलाई नेपाल पशु चिकित्सा परिषदले मान्यता नदिने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा नगरेका कलेजमा बी.भी.एससी एण्ड ए. एच कार्यक्रमका लागि भर्ना आहृवान गरेसँगै परिषदले त्यस्ता कलेजहरुको उपाधिलाई मान्यता नदिने प्रष्ट पारेको हो ।

परिषदको मापदण्डमा जनशक्ति, भौतिक पूर्वाधार, प्रयोगशाला, पशु चिकित्सा शिक्षण अस्पताल, पशुपक्षी फार्म, उपकरण, पुस्तकालय लगायत हुनुपर्ने उल्लेख छ । तर पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित हिमालय कलेज अफ एगि्रकल्चर साइन्सेज एण्ड टेक्नोलोजी काठमाडौं र नेपाल पोलिटेक्निक इन्ष्टिच्यूट लि. चितवनले यी मापदण्ड पूरा नगरी भर्ना आहृवान गरेको परिषदले जनाएको छ ।

परिषदले सार्वजनिक सूचना जारी गर्दै मापदण्डविपरीत सञ्चालित कलेजले सञ्चालन गरेको बी.भी.एससी एण्ड ए. एच कार्यक्रमलाई मान्यता नदिने बताएको छ । नियमविपरीत कोर्ष सञ्चालनको तयारीमा रहेका कलेजले मापदण्ड पूरा गरेमा भने कोर्ष सञ्चालन गर्न दिने परिषदले जनाएको छ ।

परिषदले दुई कलेजले मापदण्ड पूरा नगरेको सार्वजनिक सूचना जारी गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले मापदण्ड पूरा गरेर मात्रै विद्यार्थी भर्ना गर्न सम्बन्धन लिएका कलेजहरुलाई आग्रह गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले एक सूचना जारी गर्दै अन्यथा विश्वविद्यालय त्यसमा जिम्मेवार नहुने स्पष्ट पारेको छ ।

हेर्नुहोस् नेपाल पशु चिकित्सा परिषदको सूचना

अनलाइन खबरबाट