डा. गोविन्द केसीले मागे शिक्षामन्त्रीको राजीनामा

By purnakhabar

September 28, 2018

१२ भदौ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

डा. केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आफूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनले बताएका छन् । जनप्रतिनिधिले जनताका लागि बनाउनुपर्ने वृहत्तर जनहितका नीति नियम बनाउन अझै पनि आफूले लडेर बनाउन बाध्य गर्नुपर्ने अवस्था लज्जाजनक भएको केसीको भनाइ छ ।

‘जनताबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना जनताका लागि बनाउनुपर्ने यस्ता बृहत्तर जनहितका नीति नियम अझ हामीले नै पटक पटक लडी बनाउन बाध्य बनाउने अवस्था सिर्जना हुनु आफैमा लज्जाजनक छ’ उनले भनेका छन् । केसीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र त्रिविका उपकुलपति तीर्थ खनियाँलाई राष्ट्रपतिबाट मान पदवी दिएकोमा पनि आपत्ति जनाएका छन् ।

केसीले सरकारको यस्तै गतिविधि गरेमा विना जानकारी अनशन बस्ने पनि चेतावनी दिएका छन् ।

अनलाइन खबरबाट