डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

By purnakhabar

September 28, 2018

१२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् ।

संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीलाई चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने भन्दै केसीसँग भएको सहमतिमा फरक मत राख्दै आएका छन् ।

डा. केसीले भने आफूसँग भएको सहमतिअनुसार नै विधेयक पास हुनुपर्ने भन्दै १६ औं अनसन बस्ने चेतवनी दिएका छन् ।

तर, अब अनसन बस्दा विगतमा जस्तो पूर्वजानकारी नदिइने उनले बताए । अनसनको अन्तिम चरणमा सरकारले ब्याकमेलिङ गरेर सम्झौता गर्ने र अनसन बिथोल्ने काम मात्र गरेको भन्दै डा. केसीले भने, ‘उनीहरुले पटकपटक मेरो अनसन बिथोल्ने प्रयास गरेका कारण पनि यस पटक नभनी बस्ने निर्णयमा पुगेको हुँ ।’

‘१६ औं पटकको अनसन बस्दा कसैलाई थाहा नदिई बस्ने मात्र होइन, कुन ठाउँमा बस्ने भन्ने समेत कसैलाई पत्तो नदिने निर्णय गरेको छु ।’

अनलाइन खबरबाट