पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता हुने

By purnakhabar

September 28, 2018

१२ असोज, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि आईटीएफ सिनियर वल्र्ड र्‍याङ्िकङ टेनिस टुर्नामेन्ट हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । इन्टरनेसनल टेनिस फेडेरेसनको र नेपाल टेनिस संघको सहयोगमा हुने फोर्थ ग्रेड प्रतियोगितामा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्ष माथिको सिंगल्स र डबल्स दुबै स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताका लागि शुक्रबार बेलुका ६ बजेसम्ममा नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल, भारत र नेदरल्याण्डका ८६ जना खेलाडीले सहभागिता जनाउने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा भारतबाट १५ जना र नेदरल्याण्डबाट १ जनाले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा टेनिसका नेपालका एक नम्बर खेलाडी कमल भण्डारी, दोस्रो नम्बरका दिलीप मोहन्ती, भारतका भेङकर कोथियाना, नेपालका चर्चित खेलाडीहरु मनोज राना, प्रदीपकुमार गुप्ता, पूर्वउपप्रधानमन्त्री तथा खेलाडी कमल थापालगायतले प्रतिस्पर्धामा भाग लिने विष्टले बताए ।

प्रतियोगितामा सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार र सेमिफाइनलमा पुग्नेहरुलाई ५/५ हजारसहित ट्रफी प्रदान गरिने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले जानकारी दिए । त्यस्तै डबल्सतर्फ प्रथम हुनेलाई २० हजार र द्वितीय हुनेलाई १० हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।

त्यस्तै, प्रतियोगितामा फाइनलमा पुग्नेले ३० प्वाइन्ट, सेमिफाइनलमा पुग्नेले २० प्वाइन्ट र क्वार्टरफाइनमा पुग्नेले १०/१० प्वाइन्ट प्राप्त गर्ने जनाइएको छ । खेलाडीले पाएको प्वाइन्टको आधारमा विश्व वरियता गणना हुने जनाइएको छ ।

रंगशालामा भइरहेको महोत्सवले प्रतियोगितामा असर

यसैबीच, आइटीएफ सिनियर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितालाई पोखरा रंगशालामा जारी महोत्सवले असर गर्ने भएको छ । महोत्सवमा ठूलो स्पिकरमा घन्कने गीतले प्रतियोगितालाई असर पारेको हो ।

टेनिस वलको आवाजले दिशा निर्धारण गरेर खेल्नुपर्ने खेल भए पनि रंगशालामा भइरहेको महोत्सवले आवाज नसुनिने भएपछि प्रतियोगितालाई असर गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए ।

उनले महोत्सवमा घन्किएको ठूलो आवाजको गीत नरोकिए प्रतियोगिता सञ्चालन गर्न नसकिने बताए । लामाले भने, ‘रंगशाला खेल खेलाउनका लागि हो, तर यहाँ मनोरञ्जनात्मक महोत्सव गरेर खेलमै असर पारिरहेको छ, हामीले आवाज बन्द गर्न आग्रह गरेपनि बेवास्ता गरिरहेका छन् ।’

उनले प्रतियोगितालाई असर गरेमा अर्को वर्षदेखि पोखरामा प्रतियोगिता गर्न इन्टरनेसनल टेनिस फेडेरेसनले अनुमति नदिने र यसले नेपालको टेनिस खेलको विकासमै असर पर्ने चेतावनी दिए ।

कास्की जिल्ला खेलकुद विकास समितिको अनुमतिमा पोखरा रंगशालामा खेलकुद महोत्सवसँगै मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ ।

अनलाइन खबरबाट