राजेन्द्र महतो भन्छन् : संशोधन नगरे यो संविधानको पनि दुर्गति हुन्छ

By purnakhabar

September 27, 2018

११ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् ।

संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् ।

‘मधेसी जनताले पटक पटक आवाज उठाएका छन् । संविधान संशोधन के हुन्छ ? सरकार यसरी कानमा तेल हालेर बस्ने हो भने अगाडिका ६ वटा संविधानजस्तै सातौं संविधानको पनि दुर्गति हुन्छ’ महतोले भने ।

‘धैर्यको एउटा सीमा हुन्छ’ भन्दै नेता महतोले भने ‘धैर्यको बाँध टुट्यो भने मुलुकमा धेरै कुरा टुट्छ ।’

बिहीबार पनि हिन्दीमा संबोधन गरेका महतोले सामाजिक सञ्जालमा आफ्नो आलोचना भएको भन्दै आफूले नेपाली राम्रोसँग बोल्न सक्ने बताए ।

‘म राम्रोसँग नेपाली बोल्न सक्छु । आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको हुँ । जबसम्म मान्यता पाउँदैन तबसम्म बोलिरहन्छु’ उनले नेपाली भाषामै भने ।

अनलाइन खबरबाट