Banner News

सिमिकोट गाउँपालिकामा डेढ करोड हिनामिनाको आशंका, स्थानियले ज्ञापन पत्र बुझाए

By admin

September 21, 2018

असोज ५, हुम्ला । सिमिकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिनाको आशंका गरि स्थानियले जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुागानालाई ज्ञापन पत्र पेश गर्दै स्थानीयको तर्फबाट पर्वत सुनार ।

गत आर्थिक वर्षको बजेटमा सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा रकमान्तर गरी रकम हिनामिना गरेको आरोप ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सिमकोटका युवाको अगुवाईमा आज एक कार्यक्रमको विचमा ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानालाई बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढुँगानाले यसको बारेमा तत्काल ३ दिन भित्रमा बुझि सत्य तथ्य बाहिर ल्याउने बताउनुभयो । कोही कसैले गलत गरेको भए त्यस सम्वन्धी सूचना प्राप्त भएमा कारवाही अगाडी बढाउने जिल्ला स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा समेत पाएका प्रमुख जिल्ला अधिकारी ढुँगानाले बताउनु भयो । गैरजिम्मेवार रुपमा एक गाउँपालिकाको रकम अर्को गाउँपालिकामा रकमान्तर गरी खर्च गरिनु भनेको सरासर गलत भएको उहाँको भनाई रहेको थियो ।

कसरी भयो त रकमान्तर ?

लेखापाल आश्वीनि देवकोटाले प्रशासकिय अधिकृत अर्जुन दर्जी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कसैलाई कुनै सूचना, जानकारी नदिई खार्पुनाथ गाउँपालिकाको लेटरप्याडमा राष्ट्रिय वाणिज्य बैंक सिमिकोटमा रहेको सञ्चित कोषको खाता नं. ४१९०३०४०१८१०३ बाट १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ खार्पुनाथ गाउँपालिकाको कार्यकारी अधिकृत चन्द्रसिँह शाहीको दस्तखत गराई खातामा रकमान्तर गरेको पाईएको छ ।

खार्पुनाथ गाउँपालिकाले बैंकलाई पत्राचार गरेको पत्र ।

देवकोटाले खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाको दुवै लेखाको काम गर्नको लागि देवकोटाले जिम्मा लिईरहेका थिए । लेखापाल देवकोटाले दुई गाउँपालिकाको कामको चटारोले खाता नं. फरक पर्न गई यस्तो हुन गएको स्वीकारेका छन् । उता राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले भने एउटाको लेटरप्याड, अर्कोको खाताबाट कसरी रकमान्तर गर्यो भन्ने शंका स्थानियले गरेका छन् ।

तत्कालिन प्रशासकिय अधिकृतको जिम्मा पाएका देवकोटाले भने सानो गलत भएको बेला फिर्ता पठाउने बैंकले यस्तो गलत भएको कामको किन फिर्ता पठाएन भन्ने प्रश्न तेस्र्याउने गरेका छन् । आफुबाट कम्प्युटर टाईपमा गलत भएको भएता पनि बैंकले त्यसको गलत पुष्ट्याई गरेको भए समस्याको समाधान सहज रुपले हुने उनको भनाई रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले भने बैंकको रकम पोष्टिङ्गमा गलत भएको भए तत्काल खार्पुनाथ गाउँपालिकाको रकमबाट सिमकोट गाउँपालिकाको खातामा रकम फिर्ता गराउने उल्लेख गरेको छ । काम गर्ने शिलशिलामा केही गलत भएको हुन सक्ने बैंकका प्रवन्धक ठोक्रे विष्टको रहेको छ । त्यसलाई सच्याउनको लागि बैंक तयार रहेको समेत विष्टले बताउनु भयो ।

उता गत वर्षको रकम भने खर्च गरी सकेको खार्पुनाथ गाउँपालिकाले १ महिनामा साढे एक करोड रकम के कसरी खर्च गर्यो भन्ने अर्को आशंका उत्पन्न भएको स्थानिय ज्ञानेन्द्र रावतले बताउनु भयो ।

केही निर्माण गर्नु पर्ने भए टेण्डर गर्नु पर्ने टेण्डर गर्दा ३५ दिनको समयावधी लाग्ने जसको कारण योजना सम्पन्न नहुने भएको कारण रकम कसरी खर्च भयो भन्नेमा रावतको आशंका रहेको छ ।

खार्पुनाथले कहाँ खर्च गर्यो साढे १ करोड ?

असारको पहिलो हप्तामा खार्पुनाथ गाउँपालिकाको खातामा साढे एक करोड रकम प्राप्त हुँदा खार्पुनाथ गाउँपालिकाका कर्मचारी किन कसरी रकम आयो भन्ने खोजीमा लाग्नु भन्दा खुसी भई धमाधम नयाँ योजनाको तर्जुमा गर्दै खर्च गर्नमा नै लागि परे ।

कार्यकर्ता देखी स्थानिय रिझाउनको लागि यो रकम प्रयोग भएको स्थानियको भनाई रहेको छ । खार्पुनाथ गाउँपालिकाको सामुदायिक भवन देखी लिएर अन्य योजना तर्जुमामा रकम खर्च गरे । ठूला योजना दिँदा तत्कालिन टेण्डर आह्वान नगरी रकमको भटाभट खर्च भयो । थाहा पाएमा तिरौंला नभए देखाजायगा भन्ने उक्ति खार्पुनाथ गाउँपालिकामा देखियो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललाई यस बारेमा आफु अनभिग्य रहेको बताए । गाउँपालिकाले रकम खर्च गरेको देखिएको र अचित योजनामा खर्च भएको भए अर्को आर्थिक वर्षमा सो रकम सोधभर्ना गर्ने आफ्नो योजना रहेको बताउनु भयो ।

रकम हराएको कसरी थाहा भयो ?

यसरी बजेटको रकम रकामान्तर भएको खुलाशा खार्पुनथ गाउँपालिकाको आन्तरिक लेखापरिक्षण गर्ने समय असार दोस्रो हप्तामा पत्ता लाग्यो । जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यलयले लेखापरिक्षण गर्दा बढी रकम खार्पुनाथले प्राप्ती गरेको थाहा भएको थियो ।

आन्तरिक रुपमा मिलान गर्नको लागि आन्तरिक लेखापरिक्षकले सुझाएका थिए । खातामा भएको सबै रकम खर्च भएको आउँदो आर्थिक वर्षमा रकम सोधभर्ना गर्ने गरी खार्पुनाथ गाउँपालिकाले सापटी जनाएर आन्तरिक लेखा परिक्षण गरायो । जहाँ एक गाउँपालिकाको रकम अर्को गाउँपालिकाले चलाउँदा गाउँ परिषदको निर्णय लिने र दिने पालिकाको निर्णय हुनु पर्दछ तर त्यसो नहुँदा स्थानियले शंका गरेका छन् ।

रकमको अनियमितता गरेको प्रमाणित टेण्डर हुनु पर्ने योजनामा टेण्डर नगरी बिल भरपाई मिलाएर रकमको दुरुपयोग गरेको ज्ञापन पत्र बुझाउने क्रममा स्थानिय युवाको रहेको छ । यता सिमकोट गाउँपालिकाको रकम हराएको पत्ता नभएको भएता पनि उता रकम बढी आएको थाहा हुँदा हुँदै रकमको खर्च गरिनु यसमा मिलोमतो भएको ज्ञापनपत्र बुझाउँदै स्थानियले बताउने गरेका छन् ।

यता सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामा भने यो वर्षमा नै पुरा रकम सोधभर्ना गरी छाड्ने सञ्चारकर्मीलाई बताउँछन् । गलत जो कोही गरोस् रकमलाई सोध भर्ना गरेर मात्र अगाडी बढ्ने लामाको भनाई रहेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्र  ।

आन्तरिक रुपमा रकमको फिर्ता गर्ने तयारी भएको भएता पनि यो सञ्चारकर्मीको माझमा पुगेपछि अझ तत्परताको साथमा रकम फिर्ता गराउनु लागि पर्ने उपाध्यक्ष बली रावतको भनाई रहेको छ ।

यता सिमकोट गाउँपालिकाबाट नाम्खा गाउँपालिकामा सरुवा भएका लेखापाल अश्वीनी देवकोटालाई सो बारेमा स्पष्ट नपार्दा सम्म रमाना नदिईएको सिमकोट गाउँपालिका स्रोतले जानकारी गराएको छ ।

सिमकोट गाउँपालिकाले रकमको सोधभर्ना गरेको खण्डमा यस वर्ष खार्पुनाथ गाउँपालिकाले छनौट गरेको सबै योजना तर्जुमा सञ्चालन गर्नको लागि कठिन हुने देखिएको छ ।

ज्ञापन पत्र पेश गरेमा सिमकोटका युवा यसको सत्य तथ्य छानविन गरी गाउँपालिकामा रकम सोधभर्ना नगरिएमा थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने पक्षमा देखिएका छन् ।

गाउँपालिकाको विकास निर्माणमा आएको बजेट मध्ये पुँजिगत तर्फको ९७ लाख ९३ हजार ३ सय ३३ र सञ्चालन तर्फको ८७ लाख ५९ हजार ३ सय ३४ रुपैयाँको पारदर्शिता नहुँदा सम्म थप आन्दोलन गरिने स्थानिय युवाको भनाई रहेको छ । यस्तो गलत गर्ने कर्मचारीलाई कारवाही गरिनु पर्ने पनि मागमा उल्लेख गरेका छन् ।

 

Source link