पाटनमा मल्लकालीन कात्तिक नाचको रौनक (फोटो फिचर)

By purnakhabar

November 22, 2018

६ मंसिर, ललितपुर । ललितपुरको मंगलबजारस्थित डबलीमा हिजोआज कात्तिक नाच चलिरहेको छ । कात्तिक २६ गते सुरु भएको यो नाच लगातार १२ दिनसम्म चल्नेछ ।

३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच मल्ल राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ ।

विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।

कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच यो वर्ष मंसिर ५ गते देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

अन्य नाच बेलुका ७ बजे शुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशन हुने गरेको छ । कात्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो । पछिल्ला वर्षहरुमा भने १२ दिन देखाउन थालिएको छ । आयोजकका अनुसार, यो नाच सञ्चालनका लागि वार्षिक साढे ५ लाख खर्च हुने गरेको छ ।

सिद्धि नरसिंह मल्लले देशमा शान्ति सु–व्यवस्था कायम राख्न र नागरिकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो नाचको सुरुवात गराएका थिए । राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको उक्त नाच प्रथमपटक ५ दिनबाट थालनी गरिएको इतिहास छ ।

हेर्नुहोस् तस्वीरहरु :

अनलाइन खबरबाट