थिंक ट्याङ्कको काममा सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

By purnakhabar

November 20, 2018

४ मसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्याङ्की) को काममा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा उनले प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारे । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र’ प्रधानमन्त्री ओलीले भने, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’

प्रधानमन्त्री ओलीले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका छन् । ‘विकासलाई बाधा पु¥याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्दछ’ प्रधानमन्त्रीले भने । प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीतिनिर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

‘सरकारले कम खर्च बढी प्रतिफल दिने नीति लिएको छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ ।’

बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्देश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

अनलाइन खबरबाट