कृषि विश्वविद्यालयबाट ९ विद्यार्थी पक्राउ, पदाधिकारीलाई बन्धक बनाएको आरोप

By purnakhabar

November 17, 2018

१ मंसिर, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको आरोपमा प्रहरीले ९ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्धक बनाएकाले शुक्रबार साँझ ती विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बन्धक बनाइएका पदाधिकारीहरुलाई उद्धार गरेर उनीहरुकै सवारीसाधनमा घर पठाएको थियो ।

विद्यार्थीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन दिएका थिएनन् । सो क्रममा प्रहरी र विद्यार्थीहरुबीच झडपसमेत भएको थियो । विद्यार्थीहरुले विश्वविद्यालयमा तालासमेत लगाएको थियो । उक्त ताला बिहीबार बिहान प्रहरीले फोडेको थियो ।

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् ।

अनलाइन खबरबाट