विद्युत र कृषिबाटै समृद्ध नेपाल : उद्योगमन्त्री यादव

By purnakhabar

November 16, 2018

३० कात्तिक, सिमरा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले स्थानीय उत्पादनमा जोड दिन सके देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।

बाराको सिमरामा ‘कृषि, पर्यटन तथा व्यापारिक मेला’ बारा महोत्सवको उद्घाटन गर्दै उनले ५९ प्रतिशत काम गर्ने जनशक्ति रहेको नेपालमा बाहिरबाट आयात हुने समानका कारण आन्तरिक ब्यवसाय प्रभावित हुदै गएको उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

उनले देशका युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन नसके देशले प्रगति गर्न नसक्ने भन्दै विद्युत र कृषिबाट मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सकिने बताए ।

मन्त्री यादवले थोरै जग्गामा खेती गरेका किसानहरुलाई सामूहिक चक्लाबन्दी खेती गर्न आग्रह गर्दै त्यस्तो खेतीलाई राज्यले सहयोग गर्ने उद्घोष समेत गरे । मंसिर १० गतेसम्म चल्ने महोत्सवमा जिल्लाभित्र रहेको कृषिको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिने व्यवस्था पनि मिलाएको आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद भट्टले जानकारी दिए ।

महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योति मगर, कमल खत्री, कमल के क्षेत्री, दीपक लिम्बु, मिलन लामा, टीका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दासलगायत कलाकारले पनि प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ । करिब ५८ लाखको अनुमानित लागतमा शुरु भएको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उद्देश्य राखिएको छ ।

अनलाइन खबरबाट