कार्यकर्ता पक्राउको विरोधमा नेविसंघ आन्दोलित, प्रधानमन्त्रीको पुत्ला जलाउने

By purnakhabar

November 10, 2018

२४ कात्तिक, काठमाडौं । कार्यकर्ता पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ ।

प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेको भन्दै माफी माग्दा समेत नछाडेको भन्दै नेवि संघले आन्दोलनको घोषणा गरेको छ ।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा ढकाललाई पक्राउ गरिएको नेवि संघ अध्यक्ष नैनसिंह महरले बताए । उनले भने, ‘अन्जानमा भएका कुरालाईसमेत यति ठूलो विषय बनाएर सरकारविरुद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ । म प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छु, जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तीका बारेमा बोल्दा वा सांकेतिक रुपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाउन बन्द गरोस् ।’

सरकार कम्युनिष्ट बाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको उनको आरोप छ । महरले भने,‘सरकारलाई हामीले सर्वसत्तावादको बाटोमा जाँदैछ भनेका थियौं, आज नेविसंघ काभ्रेका नेतालाई पक्राउ गरेर त्यो चरित्र उदाङ्गो भएको छ ।’

ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।

अनलाइन खबरबाट