राष्ट्र बैंकले १ अर्ब ४३ करोड निक्षेप लगानी गर्ने

By purnakhabar

November 04, 2018

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बेंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा शिलबन्दी दरभाउँपत्रमार्फत लगानी गर्ने भएको हो ।

विकास बैंकहरुमा १ अर्ब १४ करोड ५० लाख रुपैयाँ, विकसा बैंकहरुमा २१ करोड ४६ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा ७ करोड १६ लाख रुपैयाँ निक्षेप लगानी गर्नका लागि राष्ट्र बेंकले सूचना जारी गरेको छ ।

राष्ट्र बैंकको बिभिन्न कोषमा रहेको देहाय बमोजिमको रकम मिति २०७५ मंसिर २ गते देखि २०७६ कार्तिक ३० सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्न लागिएको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीयसंस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई आगामी मंगलबार अपरान्ह ३.०० बजे भित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले निम्नानुसारको शर्त तोकेको छः

शर्तहरु (क) बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको ।

(ख) बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।

(ग) निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।

(घ) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।

(ङ) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।

(च) निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।

(छ) रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।

(ज) लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।

(झ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको ।

(ञ) बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।

(ट) सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको ।

अनलाइन खबरबाट