Uncategorized

‘एउटै साहारा तिम्रै मायाको’

१७ कातिक, मोरङ । उदितनारायण झा र दीपा झाले वर्षौं पहिले कुसुमे रुमाल चलचित्रका लागि गाएको गीत हो ‘एउटै साहारा तिम्रै मायाको ।’ श्रीमान-श्रीमती, प्रेमी-प्रेमिका बीचको आपसी सम्बन्ध दर्साउने सदाबहार गीतको बोल जस्तै सुरेशको एउटै साहारा हुन् दिलुमाया ।

दुबै मिर्गौलाले काम नगर्ने भएपछि डाएलाइसिसको भरमा बाँचिरहेकी मोरङ कानेपोखरी गाउपालिका ४ की ३३ वर्षीया दिलुमाया गुरुङलाई उनका श्रीमान सुरेशले एउटा मिर्गौला दिए । सुरेशले दिलुलाई मिर्गौला दिनुको एउटै कारण हो माया । १३ वर्ष अघि विवाह गरेका सुरेश र दिलुका एक छोरा र एक छोरी छन् । १२ र १० बर्षका छोरा छोरीका लागि सुरेशले दिलुलाई मिर्गौला दिए ।

चार वर्षअघि मिर्गौला बिग्रिएपछि डाएलाइसिस गराइरहेकी दिलु गत जेठदेखि श्रीमानको मिर्गौलाको साहारामा छिन् । डेढ वर्ष काठमाडौं डेरामा बसेर सुरेशले दिलुलाई मिर्गौला दिएर घर फर्किएका छन् ।

‘मैले त तपाईंले दिनुपर्दैन, जति सकिन्छ डाएलाइसिस मात्र गरौं भनें,’ विगत सम्झिँदै दिलुले भनिन्, ‘उहाँले मान्नु भएन । एउटा मिर्गौलाले पनि बाँच्न सकिन्छ भन्नुभयो ।’

शहीद  धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा श्रीमतीका लागि मिर्गौला दिने तयारी गर्दै गर्दा सुरेशविरुद्ध सिंगो समाज उभिएको थियो । उनलाई भेट्ने केही बाहेकले आफ्नो मिर्गौला नदिन सल्लाह दिन्थे । तर सुरेशले जीवन संगिनी बेडमा छटपटाई रहेको देख्न सकेनन् । अन्तत साथीभाइको सल्लाह विपरित उनी दिलुलाई मिर्गौला दिने तयारीमा लागे ।

श्रीमतीको जीवन रक्षा गर्नु आफ्नो कर्तव्य सम्झेका सुरेशले मिर्गौला दिन बेडमा बसेपछि पहिले नदिनु भनेका साथीहरुले पनि उनको प्रशंसा गरे । ‘मिर्गौला दिने तयारी गर्दा साथीहरुले नदिन सुझाव पनि दिए,’ सुरेश भन्छन्, ‘मैले एउटै मिर्गौलाले बाँचेका धेरै मान्छे छन् भनेर मिर्गौला दिने तयारी गरेपछि श्रीमानले श्रीमतीलाई मिर्गौला दिएको भन्दै सबैले उनको प्रशंसा गरे ।’

मिर्गौला प्रत्यारोपणको तयारी गरिरहेका मध्ये पत्नीका लागि मिर्गौला दिने सुरेश एक्ला पती थिए ।

मिर्गौला विग्रिएपछि पतीको जीवन रक्षा गर्न मिर्गौला दिने पत्नीहरु धेरै छन् । तर पत्नीका लागि मिर्गौला दिने पती कमै मात्र छन् । सुरेश तीनैमध्येका एक हुन् ।

चार वर्ष अघि दिलुको मिर्गौला काम नलाग्ने भएपछि वैदेशिक रोजगारीमा रहेका सुरेशले आफैं श्रीमतीलाई मिर्गौला दिने भन्दै स्वदेश फर्किएका थिए । तर दिलुकी आमा विष्णुमाया गुरुङ र सुरेशकी आमा सावित्राले आफूले दिने भन्दै सुरेशलाई रोके ।  सुरुमा दिलुकी आमा विष्णुमायाको मिर्गौला प्रत्यारोपणका लागि अस्पतालले तयारी सुरु गर्‍यो । तर पाँच महिनाको तयारीपछि ५५ वर्षीया विष्णुमायाको मिर्गौला परिवर्तन गर्दा जोखिम बढी हुने रिपोर्ट आयो ।

पाँच महिनाको तयारी गर्दा आमाको मिर्गौला दिन नमिल्ने रिपोर्ट आएपछि सुरेश आफैं मिर्गौला दिन अघि सरे । सुरेशकी आमा सावित्राले पनि दिने तयारी गरेकी थिइन् । तर तयारीमा लामो समय लाग्ने भएपछि सुरेश आमालाई रोकेर आफै अघि सरे । सुरेशको पनि पाँच महिना तयारी गर्दा बल्ल मिर्गौला परिवर्तन गर्न मिल्ने भयो । २०७४ साउन देखिको तयारीपछि २०७५ साल जेठ १५ गते सुरेशले दिलुका लागि मिर्गौला दिने समय जुर्‍यो । २०७४ साउनदेखि नियमित १० महिना डाएलाइसिस गराइरहेकी दिलु जेठयता श्रीमानको मिर्गौलाको साहारामा छिन् ।

सुरेश भन्छन्, ‘हामी एउटै मिर्गौलाले जीवन चलाउँछौं ।’ मिर्गौला ट्रान्सप्लान्ट गरेपछिको केही महिनाको उपचारपछि अस्पतालले दिलुमायालाई मासिक रुपमा र सुरेशलाई ३-३ महिनाको अन्तरमा फलोअपका लागि बोलाएको छ ।

महङ्गो उपचार

सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेको छ । तर सुरेश र दिलुको उपचारका लागि उनको परिवारले १२ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ । प्रत्यारोपण निःशुल्क भनिए पनि आवश्यक पर्ने औषधि र अन्य औजार खरिद गर्दा र डाएलाइसिसमा ऋण र सहयोग जुटाएर १२ लाख भन्दा बढी खर्च भएको हो । अब नियमित औषधिका लागि मासिक १५ हजार रुपैयाँ आवश्यक पर्ने उनीहरु बताउँछन् ।

दिलुको उपचारका लागि लागेको १२ लाखमध्ये स्थानीय मातृभूमि समाज सेवा युवा क्लबले दिलुमाया बचाउ अभियान समूह गठन गरी ७ लाख रुपैयाँ उठाएर उपलब्ध गराएको थियो । देश तथा विदेशमा रहेकाहरुले उनको उपचारका लागि सहयोग गरेको बचाउ अभियानका सदस्य दिनेश सुब्बाले जानकारी दिए ।

साथीभाइको सहयोग, आफन्तबाट लिएको ऋण र आफूले कमाएको पैसाबाट उपचार सम्भव भएको सुरेश स्मरण गर्छन् । ‘२-३ लाख रुपैयाँ आफ्नो पैसा थियो,’ सुरेश भन्छन्, ‘७ लाख साथीभाइहरुले सहयोग गर्नुभयो । आफन्तबाट पनि ऋण खोजेका थियौं ।’

भारी काम गर्न हुँदैन, कसरी चलाउनु गुजारा ?

सुरेश र दिलु मध्यम वर्गीय कृषक परिवारका सदस्य हुन् । कृषि पेसा गर्दा अनिवार्य रुपमा गह्रुंगो काम गर्नुपर्छ । पहिले वैदेशिक रोजगारीमा गएका सुरेश अब जान सक्दैनन् । दिलुले पनि पहिले जस्तै गृहिणीको काम गर्न मिल्दैन ।

जीवन निर्वाह गर्ने पेसा नै कृषि भएकाले कसरी गर्ने भन्ने अन्योलमा  गुरुङ परिवार  छ । ‘बुवा, आमा र भाइहरुले अहिले सबै थोक गर्दै हुनुहुन्छ,’ सुरेश भन्छन्, ‘भोलि जीवन जिउने आधार के बनाउने होला भन्ने चिन्ता छ ।’

भारी काम गर्न नहुने भएकाले सुरेशका बुबा डिल्लीले छोरा बुहारीका लागि पाँच सय लेयर्स कुखुरा पालि दिएका छन् । अहिले सुरेशको दिनचर्या कुखुराको स्याहारमा बित्ने गर्छ । कुखुरा र अण्डाको बजार राम्रो नभएको सुरेशको गुनासो छ ।

मिर्गौला प्रत्यारोपण गरेकी दिलुले आजीवन औषधि प्रयोग गर्नुपर्छ । सुरुमा महङ्गो औषधि प्रयोग भए पनि अब मासिक १५ हजार रुपैयाँ हाराहारीको औषधि नियमित सेवन गर्नुपर्ने डाक्टरले बताएका छन् । तर खर्च जुटाउने नियमित स्रोत नहुँदा तनाव भएको सुरेश बताउँ छन् ।  श्रीमतीको हेरचाहसँगसँगै सुरेशमाथी छोराछोरी पढाउनुपर्ने जिम्मेवारी पनि छ । आफैं अशक्त भएका कारण के गर्ने भन्ने अन्योलमा छन् उनी ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *