Uncategorized

पीपीएल : काठमाडौं रोयल्सद्वारा बुटवल ब्लास्टर्स ३७ रनले पराजित

१६ कार्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा काठमाडौंले बुटवललाई सहज रुपमा पराजित गरेको हो । १७३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो ।

बुटवलका लागि ओपनर रोहन मुस्तफाले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ५१ बलमा ६१ रन बनाए । बसन्त रेग्मीको बलमा एल्बिडब्लु आउट हुनुअघि उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । उनी आउट भएसँगै बुटवलको इनिङ्स धराबमा परेको थियो । त्यस्तै, बुटवलका लागि सिद्धान्त लोहनीले १३ र भिम सार्कीले १२ रन बनाए ।

बलिङतर्फ काठमाडौंका अमरसिंह रौटेलाले ३, बसन्त रेग्मी र नन्दनकुमार यादवले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । विष्फोटक ब्याटिङ गर्दै नरेश बुढाऐरले काठमाडौंको इनिङ्स सम्हालेका थिए । उनले मात्र २८ बलमा ५८ रन बनाएका थिए । उनले ५ छक्का र ३ चौका प्रहार गरे ।

त्यस्तै, काठमाडौंका लागि जयक्रिशन कोल्सवालले ४५ रन बनाए । उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले अविजित २५ रन बनाउँदा पवन सर्राफले २२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ बुटवलका विपिन खत्रीले २ विकेट लिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *