Banner News

करोडौ खर्च गरेर ५० हजारलाई भोज खुवाउने नेकपाको चियापानमा नजाने डा. भट्टराईको घोषणा

By admin

October 27, 2018

कात्तिक १०, काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

डा.भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने बताएका हुन् । उनले करोडौ खर्च गरेर ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने भनेर नेकपालाई सुझाव दिएका छन् ।

चियापान कार्यक्रममा नेकपाले ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ ।

डा.भट्टराईले आफूलाई नेकपाले एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको बताएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै डा.भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईहरू सबैको भलोहोस्, हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ । जय होस ।’

चियापानको निम्तो पठाउँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नाममा निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाममा शुभकामना पठाइएको छ ।

यस्तो थियो नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको थियो ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको हो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए ।

तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

Source link