Banner News

निर्मलाको हत्यारा पत्ता नलागे सम्म कसरि विजयको टिका नलगाउने ?

कार्तिक ०१, काठमाडौं । ‘‘छोरी नै नरहेपछि कसलाई टिका लगाउनू दसैंंमा । न त छोरीको हत्यारा नै पत्ता लाग्यो । यसपाली हामी दसैंं मनाउदैनौं’’ निर्मला पन्तका बुबाले मलिन स्वरमा भने । गत साउन १० गते साथी रोशनी वमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ । तर ३ महिना वित्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन् । निर्मलाका बुवा यज्ञराज भन्छन्,‘‘छोरीकोे जुठो त १०÷१५ दिनमै पखालिन्छ । तर हामी दसैं मनाउदैनौं । हत्यारा पत्ता नलागेसम्म कसरी विजयको टिका लगाउनु ? हामीले राज्यका हरेक निकायका व्याक्तिहरुलाई भेट्यौं, न्यायको आवश्वासन पायौं तर व्यावहारमा त्यसो देखिएन । उल्टै बेलाबेला कञ्चनपुर प्रहरीको हप्की खानुपरेको छ,’’ यज्ञराजले बाह्रखरी संग भने ।

निर्मला हत्यापछि गाउँ पनि शोकमै छ । निर्मलाको न्यायको निम्ती झण्डै ३ महिनादेखि सडकमा दबाब सिर्जना गर्न निस्किएका गाउँलेको मन पनि हत्यारा पत्ता नलाग्दा अमिलो भएको छ । स्थानीय अम्बादत्त तिवारी भन्छन्,‘‘निर्मला हत्यारा पत्ता नलाग्दा सबैमा निराशा छ । यसपाली गाउँ शोकमै छ । त्यसैले होला दशैं छैन दशैंजस्तो ।’’

गरिब परिवारमा जन्मिएकी निर्मला शान्त स्वभावकी थिइन् । स्थानीय सरस्वती माविमा कक्षा ६ मा अध्ययनरत निर्मला धर्मकर्ममा विश्वास गर्थिन् । फूर्सदको समयमा ईश्वर, जनावरलगायतका चित्र कोर्थिन् । उनको हत्यापछि उनीसँगै पढ्ने साथीहरुले प्रधानमन्त्रीलाई पत्र लेखेका थिए ।

निर्मला हत्याका विषयमा प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ती आएपछि निर्मलाका परिवारसँगै गाउँलेहरुमा पनि निराशा छाएको थियो । यसअघि कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तको रुपमा भीमदत्तनगरपालिका–१९ का दिलिप विष्टलाई सार्वजनिक गरेको थियो । तर दिलिपको डीएनए म्याच नगरेपछि उनी छुटेका थिए ।

अनुसन्धानकै क्रममा वम दिदीबहिनीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दिलिपसँगै उनीहरु पनि छुटेका थिए । रोशनी साधारण तारेखमा छुटेकी थिइन भने दिदी अनिता ३० हजार धरौटीमा छुटेका थिए । निर्मलाका परिवारजनले अझै पनि हत्या जानकारीको आशंका वम दिदीबहिनीमाथि नै गर्दै आएका छन् । गृहले गठन गरेको उच्चस्तरीय छानविन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धान र निर्मला हराएको खबर पाउँदा पनि प्रहरीले गरेको लापरवाहिपूर्ण व्यावहारलाई गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ ।

निर्मला हत्याकाण्डमा कञ्चनपुरका तत्कालीन एसपीसहित ६ जना प्रहरी निलम्बनमा परेका छन् भने २३ जनामाथी एआईजी धिरु बस्न्यातको टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरीको आधा दर्जन टोलीले निर्मला हत्याको अनुसन्धान गरिरहेको भएपनि हत्यारासम्म पुग्ने चित्तबुझ्दो सुराक प्रहरीले भेटाउन सकेको छैन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *