Uncategorized

मुद्दा फिर्ता लिन निर्वाचित क्यान तयार, बोलायो बोर्ड बैठक

२७ असोज, काठमाडौं । नेपाल क्रिकेट संघको निर्वाचित कमिटी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन तयार भएको छ । त्यसका लागि कात्तिक १० गते बोर्ड बैठक बोलाइएको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

झण्डै तीन वर्षदेखि सरकारले तदर्थ समिति बनाएपछि निर्वाचित क्यान अदालत गएको थियो । सर्वोच्चले निर्वाचित क्यानको पक्षमा अन्तरिम आदेश दिएपनि अझैसम्म अन्तिम फैसला गरेको छैन ।

विवाद अदालतमा पुगेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट संघलाई नै निलम्बन गर्‍यो ।

अहिले आईसीसीको पहलमा क्रिकेट संघको विधान संशोधन भएको छ भने विभिन्न जिल्लामा भएको निर्वाचनबारे अध्ययन गर्न स्वतन्त्र समितिले काम गरिसकेको छ ।

आईसीसीले निर्वाचित क्यानलाई मुद्दा फिर्ता लिन भनेको थियो । उसले भने उचित समयमा फिर्ता लिने बताउँदै आएको थियो । पछिल्लो पटक सरकारले पनि मुद्दा फिर्ता लिएर सहयोग गर्न भनेपछि बोर्ड बैठक बोलाइएको छ ।

बोर्डले नै मुद्दा हाल्ने निर्णय गरेकाले बोर्डमार्फत नै फिर्ताको निर्णय गर्न लागिएको महासचिव प्याकुरलेले बताए ।

कात्तिक १० गते निर्वाचित समितिको बोर्ड बैठक बोलाइएको उपाध्यक्ष दीवाकर घलेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया अझ सहज हुनेछ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *