२३ असोज बुटवल । प्रदेश ५ भित्रका गाडी चालक र कर्मचारीहरुले अब छुट्टै पोशाक लगाउनुपर्ने नियम प्रदेश सरकारले बनाउन लागेको छ ।
दुर्घटना न्यूनीकरण र यातायात सेवालाई मर्यादित बनाउने उद्देश्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा चालकहरुका लागि छुट्टै पोशाक अनिवार्य गर्न लागिएको हो ।
छुट्टै पोशाकले चालक रकर्मचारीलाई जिम्मेवार,अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने देखेर यस्तो नियम बनाउन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताए ।
दुर्घटना भएपछि चालक भाग्ने प्रवृत्तिलाई पनि पोशाक अनिवार्य भएपछि रोकिने मन्त्रालयको विश्वास छ । कस्तो पोशाक बनाउने र कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनिरहेको मन्त्री केसीले जानकारी दिए ।
यस्तै लामो दुरीमा गाडी चलाउने चालकहरु थाक्ने र निदाउने भएकाले ठाउंठाउंमा रिफ्रेस सेन्टर (आराम कक्ष) बनाउने तयारी पनि प्रदेश सरकारको रहेको मन्त्री केसीले बताए । मन्त्री केसीका अनुसार नवलपरासीको बर्दघाट, दाङको लमही र बर्दियाको बाँसगढीमा आधुनिक र सुविधायुक्त रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउन लागिएको छ ।
यस्ता रिफ्रेस सेन्टरहरु सीसीटीभी क्यामेरा जडित हुनेछन् । त्यहाँ आइपुग्दा चालकको अवस्था कस्तो छ भन्ने सीसीटीभीले देखाउने छ । त्यहाँ चालकहरुले केही घण्टा सुत्न र आराम गर्न पाउनेछन् भने उनीहरुलाई टाफिक नियमसम्बन्धी प्रशिक्षण पनि दिइनेछ ।
यस्तै गाडी चालकहरुबीच तीब्र गतिमा गाडी कुदाउने अस्वस्थ प्रतिस्पर्धा रोक्न टाइम कार्ड लागु गर्ने र सबै गाडीमा जीपीएस सिस्टम जोडेर मात्र चलाउने तयारी पनि प्रदेश सरकारको रहेको छ ।
टाइम कार्डले तीब्र गतिमा चलाउने होडबाजी रोकिने र जीपीएस सिस्टमले कुन गाडी कहां कुदिरहेको छ भन्ने जानकारी राख्न सकिने भएकाले यी विधिबाट दुर्घटना रोक्न सकिने मन्त्री केसीको दावी छ । दुर्घटना न्यूनीकरणमा प्रदेश ५ सरकारले नमूना काम गर्ने गरी थप योजनाहरु बनाइरहेको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताए ।
विशेषगरी चाडपर्वका समयमा बढी दुर्घटना हुने भएकाले सवारी साधनका छतमा यात्रु राख्न नदिने, मापसे चेकजाँचमा कडाई लगायतका कामलाई प्राथमिकता दिने प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकी बताउछन् ।
उनका अनुसार हरेक दिन सरदर ७ जना मानिस सडक दुर्घटनाका कारण मर्ने र ४५ जना घाइते हुने गरेका छन् । नेपालमा वार्षिक करिब २२ सय जना व्यक्ति सडक दुर्घटनाकै कारण मर्ने गरेका छन् ।
टाफिक प्रहरीको तथ्यांकलाई हेर्ने हो भने ७३ प्रतिशत दुर्घटना चालकको लापरवाहीले हुने गरेको छ । दुर्घटनाका कारण कूल गार्हस्थ उत्पादनमा ५ प्रतिशत कमी हुने गरेको तथ्यांकहरुले देखाउने प्रहरीको भनाइ छ ।