२३ असोज, वीरगञ्ज । भन्साल छलेर ल्याउँदै गरेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । रातको समयमा ल्याउँदै गरेको चार लाख भन्दा बढी मुल्यको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका-६ छपकैया नयाँ बस्ती इलाकाबाट ४ लाख १८ हजार ३१० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको वीरगञ्ज भन्सारस्थित गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले सुट, सर्ट पाइन्टका कपडाहरु, टप्स, मोबाईल चार्जर, जुत्ता लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।
नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए । ‘२४ अै घण्टा गस्ती, नेपाल प्रहरीसँग संयुक्त गस्ती गरिरहेका छौं,’ भन्सार क्षेत्रमा हुने नियमित चेकजाँचमा पनि कडाई गरेका छौं,’ उनले भने, ‘चाडबाडलाई लक्षित गरेर कुने पनि गैरकानुनी गतिविधि नहोस भनेर हामी सचेत छौं ।’
चाडवाडमा भन्सार क्षेत्रमा खटिएका प्रहरीसँगकै मिलेमतोमा खुलेआम तस्करी भइरहेको गुनासो आएपछि सशस्त्र प्रहरीले सक्रियता देखाएको हो ।
दुईदिन अघि पनि सशस्त्र प्रहरीले नेपालबाट भारत तस्करी गर्दै गरेको अवस्थामा ५ क्विन्टल मरिच बरामद गरेको थियो ।