१८ असोज, काठमाडौं । घरेलु फुटबलमा विगतदेखि नै विभागीय टोलीहरुको प्रभुत्व रहँदै आएको छ । तीन विभागीय टोलीमध्ये सबैभन्दा कान्छो र तुलनात्मक रुपमा कमजोर मानिन्छ सशस्त्र प्रहरी बलको एपीएफ ।
२०५७ मा स्थापना भएर २०६१ देखि फुटबल गतिविधिमा भाग लिएको एपीएफ क्लबले अहिलेसम्म ठूलो छलाङ मार्न सकेको छैन । एपीएफभन्दा निकै बलिया छन् आर्मी र पुलिस क्लब । जबकी खेलकुदका अन्य विधामा भने एपीएफको राम्रै वर्चश्व छ ।
पहिलोपटक यो क्लबले २०६१ सालमा हिमालयन कप फुटबल प्रतियोगिता खेलेको थियो । त्यसयताको १४ वर्षे फुटबल यात्रामा मोफसलका छिटफुट प्रतियोगिता जित्नुबाहेक ठूलो उपलब्धी हासिल गर्न चुक्दै आएको छ । ए डिभिजन लिग पनि यसले २०६१ बाटै खेल्न थालेको थियो । डेब्यु वर्षमै पाँचौं स्थान हासिल गरेको एपीएफको यात्रा योभन्दा माथि पुग्न सकेन ।
यो पटक भने एपीएफले टप थ्रीसम्म पुग्ने लक्ष्य राखेको छ । प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, ‘कुनै टिमलाई हामी कमजोर मान्दैनौं, हरेक खेल फाइनल मानेर खेल्ने छौं ।’
यो पटक लिगकै लागि भनेर एपीएफले तयारी थालेको करिब १ महिना मात्रै भएको छ । नयाँ नियुक्त भएर आएका प्रशिक्षक तामाङले टिममा उर्जा भरिरहेका छन् ।
कप्तान मिलन राई भन्छन्, ‘हामीले एकदम राम्रो प्रशिक्षक पाएका छौं । उहाँले नयाँ अभ्यास शैली अपनाउनु भएको छ । त्यो शैलीमा ढल्न हामीलाई निकै गाह्रो परिरहेको छ । उहाँको शैलीलाई पूर्णरुपमा आत्मसात गर्न सक्यौं भने कुनै पनि टिमलाई पनि पराजित गर्न सक्छौं ।’
यही लिगका लागि अनुबन्धित प्रशिक्षक तामाङ भन्छन्, ‘तयारी राम्रो भइरहेको छ । खेलाडीले पनि अभ्यास विधि बुझिरहेका छन् । खेल्ने तरिका र अहिलेको तयारीअनुसार हामी लिगमा धेरै टिमलाई दुःख पनि दिनेछौं । जित्ने पनि छौं ।’
क्लबलाई तेस्रो स्थानसम्म पुर्याउने प्रतिबद्धता जनाएका प्रशिक्षक आफ्नो लागि मुख्य बाधक ४ टिम भएको बताउँछन् । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबलाई उनले एपीएफभन्दा अब्बल टिमको रुपमा लिएका छन् ।
‘चार टिमहरूलाई टक्कर दिने र बाँकी टिमलाई चाहिँ पराजित गर्ने लक्ष्य छ’ उनी भन्छन् ।
तर, एपीएफले आफूसँग भएका स्टार खेलाडीलाई जोगाई राख्न भने सकिरहेको छैन । क्लबलाई यो स्थानसम्म ल्याउन रञ्जन विष्ट र अञ्जन विष्ट दाजुभाईको निकै महत्वपूर्ण भूमिका रह्यो ।
यसपाली यी दुबै खेलाडी एपीएफसँग छैनन् । यसले पनि टिमको दावेदारी कमजोर बनेको कतिपयको विश्लेषण छ । अहिले अञ्जन मनाङबाट खेल्दै छन् भने रञ्जन थ्रीस्टारबाट ।
प्रशिक्षक तामाङ भन्छन्, ‘राम्रो खेलाडी गए भन्दैमा हामी डराउनु पर्ने अवस्था छैन । भएका खेलाडीलाई हामीले राम्रो बनाउने हो ।’
खेलाडीहरुले टिम परिवर्तन गर्नुलाई उनले अन्यथा लिएका छैनन् । भन्छन्, ‘विभागमा तलब अलिक कम हुन्छ । लिग सुरु हुनेवितिकै उनीहरूले बाहिर उच्च तलब पाइहाल्छन् । त्यसैले छाडेर गएका हुन् । तर दिर्घकालिन हिसाबले सोच्दा विभागमा राम्रो हुन्छ ।’
प्रशिक्षकको रणनीति : टिमवर्क
एपीएफले डिफेन्डर १०, मिड्फिल्डर १०, फरवार्ड ६ र गोलकिपर ३ जना गरी २९ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ । राजु नगरकोटी, अमृत चौधरी र रमन रसाइली जस्ता अनुभवि किपर एपीएफसँग छन् ।
डिफेन्स लाइनलाई अनुभवि खेलाडी तथा कप्तान मिलन राईसँगै आदित्य चौधरी रमेश दंगाल, शिवराम गिरी, विश्वास उदास लगायतले सम्हाल्ने छन् । त्यसै अनुसारको बलियो डिफेन्स एपीएफले बनाइरहेको छ ।
सेन्टर मिड्फिल्डमा अनुभवि खेलाडी राजेन्द्र रावल, सुमित आलेमगर, पासाङ लामा, रुपबहादुर लामा र रामकुमार कुमालले छन् । राइट विङ्समा श्याम नेपाली र सन्तोष श्रेष्ठ तथा लेफ्ट विङ्समा नविन लामा, विके लामा र प्रदिप लामाले एट्याकिङको दलबल छ ।
फरवार्ड लाइन पनि एपीएफको बलियो नै छ । रवि थिङ, राजिव लोप्चन, युवराज खड्का जस्ता खेलाडीले अन्य टिमको टाउको दुखाउन सक्छन् ।
आफ्नो टिम सेटमा प्रशिक्षक तामाङ सन्तुष्ट छन् । टिम वर्कले नतिजा निकाल्ने उनी बताउँछन् । ‘यो नै बलियो पक्ष छ भनेर किटान गर्न सक्ने अवस्था छैन । मैले टिम वर्कलाई ध्यानमा राखेर अभ्यास गराइरहेको छु’, उनले भने ।
यस्तो छ टिम
गोलकिपरः राजु नगरकोटी, अमृत चौधरी, रमन रसाइली
डिफेन्डरः आदित्य चौधरी, रमेश ढंगाल, शिवराम गिरी, विरेन्द्र प्रकाश यादव, राजन गुरूङ, सुदिप सिखकार, तोप बहादुर विष्ट, सन्तोष कटुवाल, मिलन राई, विश्वास उदास
मिड्फिल्डरः राजेन्द्र रावल, रामकुमार कुमाल, रुप बहादुर लामा, सुमित आलेमगर, पासाङ लामा, श्याम नेपाली, सन्तोष श्रेष्ठ, नविन लामा, विके लामा, प्रदिप लामा
फरवार्डः युवराज खड्का, राजिव लोप्चन, प्रविन कुमार स्याङ्तान, हरि कार्की, आशिष लामा, रवि थिङ