शरद गौचन हत्याका योजनाकार समीरमानलाई किन सारियो मुस्ताङ ?

By purnakhabar

October 01, 2018

१५ असोज, पोखरा । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई मुस्ताङको जोमसोम कारागारमा सारिएको छ । नख्खु जेलबाट बस्नेतलाई सोमबार मुस्ताङ लगिँदैछ ।

बस्नेतलाई जहाजबाट सोमबार बिहान पोखरा ल्याइएको थियो । पोखरादेखि कास्की प्रहरी, कारागारका प्रतिनिधिसहित मुस्ताङ लगिँदैछ । पोखरा-बेनी-कोरला सडक हुँदै उनलाई मुस्ताङ पुर्‍याइने छ । सोमबार उनलाई म्याग्दी बेनीमै राख्ने र मंगलबारमात्रै मुस्ताङ पुर्‍याइने कास्कीदेखि पुगेका एक सुरक्षा अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनको हत्या भएको थियो । मंसिर १६ गते उनलाई केन्ऽीय अनुसन्धान व्युरोले बस्नेतलाई पक्राउ गरेको थियो ।

मुस्ताङ नै पुख्र्यौली घर बनेको गौचन पोखरा निर्माण व्यवसायी संघको अध्यक्ष हुँदै नेपालकै अध्यक्ष बनेका थिए । उनको हत्याका मुख्य योजनाकारलाई बस्नेतलाई उनकै गृहजिल्ला मुस्ताङ सारिएको छ ।

काठमाडौंदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सार्न लागेको जानकारी पाएपछि बस्नेत परिवार त्रसित बनेको थियो । बस्नेतकी श्रीमती सोमबार बिहानै पोखरा आइपुगेकी थिइन् ।

शंकास्पद गतिविधि हुन सक्ने भन्दै बस्नेतलाई मुस्ताङ जेलमा सार्न लागिएको स्रोतले बताएको छ ।

तर, कारागार व्यवस्थापन विभागका सहसचिव हरिप्रसाद मैनालीले बस्नेतलाई सार्नु अरु कुनै कारण नभएर नियमित प्रक्रिया भएको बताएका छन् । ‘देशमा जुनसुकै जेलमा जसलाई सार्न सकिन्छ, यो नियमित प्रक्रिया हो । यो कुनै थ्रेटका कारण वा अरु कुनै योजनाअनुसार होइन,’ मैनालीले भने, ‘आवश्यकताअनुसार एक जेलबाट एक जेलमा लैजानु सामान्य प्रक्रिया हो ।’

बस्नेतलाई मुस्ताङसम्म पुर्‍याउने भन्ने निर्देशनअनुसार कास्कीबाट सुरक्षा दिएर पठाउन लागिएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताए । ‘हामीलाई धेरै जानकारी छैन, कारण कारागार व्यवस्थापन विभागलाई नै थाहा होला’ सिडिओ बुढाले भने ।

गौचन हत्याकाण्डका मुख्य योजनाकार र उनीमाथि विभिन्न थ्रेटसमेत हुनसक्ने भएकाले मजबुत सुरक्षाकाबीच राख्नुपर्नेमा दुर्गम जिल्ला पठाउनुलाई सुरक्षाअधिकारीले समते अचम्म मानेका थिए ।

बस्नेतलाई मुस्ताङ ल्याउने भन्ने जानकारी आएको र त्यसका लागि सबै तयारी गरिएको मुस्ताङका सिडिओ शिशिर पौडेलले बताए । मध्यमस्तरको जोमसोमको कारागारमा १०/१५ जनाको क्षमता छ । त्यहाँ अहिले ८ जना पुरुष र एक जना महिलाले जेल भुक्तान गरिरहेका छन् भने ८ जना सुरक्षाकर्मी कारागारमा खटिएका छन् ।

सुरक्षा ब्यवस्थाका हिसाबले मुस्ताङमा अझ सुरक्षित रहने सिडिओ पौडेलले बताए ।

अनलाइन खबरबाट