१५ असोज, पोखरा । गण्डकी प्रदेशको प्रतीक चिहृन (लोगो) प्रतिस्पर्धाबाट छानिएको छ । १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका विनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका छानिएको हो ।
सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसलाई प्रदेशको कार्यव्यवस्था समितिको बैठकको परामर्शमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् । बिनित गण्डकी प्रदेश सभा सचिवालयकै कर्मचारी हुन् ।
प्रदेशसभाका सदस्यहरुको पोशाकमा खैरो रङ छानिएको छ भने गण्डकी प्रदेशको भौगोलिक तथा संस्कृति झल्किने गरी लोगो छानिएको हो । छनोटमा परेको लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातीको पोशाकसहितको चित्रले छुट्याइएको छ ।
सिंगो नेपालको नक्साको तलमाथि गण्डकी प्रदेशका अन्य संकेत राखिएको छ । लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।
सबैभन्दा माथि माछापुच्छ्रेसहितको अन्नपूर्ण हिमश्रङ्खलामार्फत गण्डकी प्रदेशको हिमाली क्षेत्रलाई संकेत गरिएको छ । त्यसभन्दा तल पहाडी र तराई क्षेत्रको डाडाँलाई संकेत गरिएको लोगो बनाएका विनितले जानकारी दिए ।
‘गण्डकी प्रदेशमा समेटिएका हिमाल, पहाड र तराईलाई लोगोमा संकेत गरेको हुँ,’ विनितले भने, ‘राष्ट्रिय पंक्षी डाँफे, फूल लालिगुराँस र नेपालको झण्डालाई पनि समेटेको छु ।’
लोगोको दुईतिरको किनारमा समृद्धिको आधारमा धानको बालालाई राखिएको छ भने सबैभन्दा तल एकता र समानताको प्रतीकका रुपमा महिला र पुरुषले हात मिलाएको देखाइएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका नदीलाई पनि लोगोमा देखाइएको छ भने नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज आसपासमा पाइने गैंडा र मृगलाई पनि देखाइएकोे छ । लोगोमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिलाई पनि समेटेको ग्राफर बिनितले बताए ।
उनीसँगै पवन पौडेल, महेन्द्र उपाध्याय, अनुसन्धान पोखरेल र प्रेम श्रेष्ठका १२ लोगो प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धाबाट विनितले बनाएको लोगोले सर्वोत्कृष्ट हुँदै २५ हजार रुपैयाँ पाएको छ ।
समितिले गरेको सिफारिसको आधारमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, कानुनमन्त्री हरिबहादुर चुमान, सांसद कृष्णबहादुर चुमान र कुमार खड्को उपस्थितिमा कार्यव्यवस्था समितिले लोगो छानेको संयोजक मायानाथ अधिकारीले जानकारी दिए ।
प्रदेशसभा नियमावलीले कार्यव्यवस्था परामर्श समितिको परामर्शले सभामुखले छान्न सक्ने व्यवस्था छ । साउन ४ गते लोगो तथा पोशाक प्रतिस्पर्धाका लागि आहृवान गरिएको थियो । लोगो छनोट भएसँगै अब सांसदका लागि प्रतीक चिहृन उपलब्ध गराइने छ ।