Uncategorized

यार कर्नाली ! मुख्यमन्त्रीसँग सपना सम्वाद

‘हेलो मुख्यमन्त्री ज्यू नमस्कार ।’

नमस्कार, जय कर्नाली

‘म बलाष्ट बोले अविछिन्न कामरेड । उही गले साथी यार’

अहो, मिस्टर गले कामरेड कहिले फर्किनुभो ? बि्रस्बेनमा हुनुहुन्थ्यो नि ?

हो, म ब्रिस्बेनबाट सिड्नी सरेको थिए । तर, केही दिन भयो काठमाडौं आइपुगे ।

‘वेलकम ब्याक कर्नाली …’

ओके थ्याङस यार । म आज साझ नै कर्नाली आउँछु ल ।

प्लिज स्वागत छ । कम फास्ट गले ।

कर्नालीका मुख्यमन्त्री अविछिन्न कामरेडसँगको छोटो कुराकानीपछि म सुलसुले रेलस्टेशन, काठमाडौंबाट रेल चढे । जुन रेल विश्वकै द्रुत गतिको रेल थियो । १५ मिनेटमा कर्नालीको पुरानो मुकाम वीरेन्द्रनगर पुगें । कार्डमा पैसा त सकिएको पो रैछ । जम्मा ३० रुपैयाँ भाडा । कार्डमा पैसा नभएपछि निःशुल्कै भो । तर, राजधानी त सुर्खेतको भेरीगंगा स्मार्ट सिटीमा सरिसकेको रैछ ।

गुगल गरे । वीरेन्द्रनगर टू भेरीगंगा ४० किलोमिटर देखियो । जल मन्त्रालयका एक कर्मचारीसँग बुझें-‘यातायातको अवस्था के छ ?’

उनले भने,’ पानी जहाज, अल्ट्रा, रोपवे, फलाई मोटरको सेवा छ सर । केस्मा जानुहुन्छ सर ? ‘ उनले थपिरहे, ‘वीरेन्द्रनगर-भेरीगंगा-तुलसिपुर (लुम्बिनी प्रदेशको राजधानी दाङ तुलसीपुर) का लागि सानो पानी जहाँज छ सर । हाम्रो मुकाममा पनि स्टेशन छ सर । यसमै गए हुँदैन र ?

वाह, यस्तो पो विकास यार । दंग परे । ४० किलोमिटरको यात्रा केसमा गर्ने ? अन्योलमा परे । एक मनले त सोचे जल यात्राबाट जाउकी । फेरि सोधे,’भाडा कति होला भेरीगंगाका लागि ? ‘

‘लुम्बिनी प्रदेशको मुकाम तुलसीपुरसम्मका लागि त ५ रुपैयाँ हो सर । हाम्रो प्रदेशमा त रेल सेवा निःशुल्क छ सर । ३ मिनेटमा मुकाम पुग्नुहुन्छ । लुलसीपुर ७ मिनेटमा पुगिन्छ ।

मलाई नयाँ यातायात मार्ग प्रयोग गर्न मन लाग्यो । फलाई मोटर चढे । अल्ट्रा भन्दा अलिक फरक अनुभूति भयो । जहाँ भन्यो त्यही ल्याण्ड हुँदो रैछ । म भेरीगंगा स्मार्टसीटी जहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ, त्यसको ३ किलोमिटर टाढा ल्याण्ड भएं । फलाईमोटरमा चालकसहित हामी तीन जना थियौं । भाडा सिस्टममै रैछ । तिर्न परेन । कार्ड बनाउँदा सबै त्यही प्रकारको सेटिङ रैछ । चढ्यो कि कट्यो । जम्मा २ रुपैयाँ ।

मुख्यमन्त्रीको कार्यालयतर्फ लम्किएँ । टक्क अडिएँ । यताउता हेरेको त ४८ मिटर चौडा सडक । अलि पर त्यस्तै २९ तले टावर देखियो । अविछिन्न टावर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको ।

केही युवती र युवकहरुले संयुक्त रुपमा गेटमै स्वागत, सम्मान गरे । फूलमाला, अविरसहित जय कर्नाली लेखिएको खादा लगाइदिए । मुख्यमन्त्रीले नै जानकारी दिएका रैछन् क्यारे । म फ्रुङग भए । पाँच/सात जना अघिपछि लागे । म बीचमा । एउटा अत्याधुनिक सोफामा बसाए । सोफा त २८ औं तलामा पो पुग्यो । मैले सोफा सम्झिए । केवलकार पो रहेछ ।

रातो र हरियो दुई कलरको भव्य बैठक कक्षमा केही मान्छेहरुसँगै प्रवेश गरें । मुख्यमन्त्री अविछिन्नको एसएमएस आयो । ‘मिस्टर बलाष्ट, टू मिनेट वेट प्लीज ।’ दुई मिनेटभित्र मुख्यमन्त्री अविछिन्न बैठक कक्षमा आइपुगे । अरु सबै आउट । मुख्यमन्त्री अविछिन्नसँग वन टू वन बार्ता सुरु भयो । मुख्यमन्त्रीको समय जम्मा १९ मिनेट थियो ।

कर्नालीमा के-के छ गुगल गरेर थाहा पाएँ । मैले थाहा नपाएको केही छ कि ? र, यो कसरी सम्भव भयो ? मैले प्रश्न गरे ।
मुख्यमन्त्रीले सुरु गरे ।

मिस्टर गले मित्र तपाईंले केके थाहा पाउनु भयो र सिड्नीवासी कर्नाली फर्किनुभयो त्यतातिर म जान चाहन्न तर तपाईले केही प्रश्नको उत्तर दिनुस् । तपाईं फर्किने हो या होइन ? र, तपाईंको सहर सिड्नी र बि्रस्बेन र कर्नालीमा के फरक छ ?

मैले छोटोमो उत्तर दिए, ‘हिजो कर्नाली र समग्र अष्ट्रेलियाको भिन्नता जति थियो अहिले अष्ट्रेलिया र कर्नालबीचको भिन्नता त्यती नै देखें । मेरो मतलब अष्ट्रेलिया र कर्नालीको स्थान बदलिएको छ । हिजोको कर्नालीको ठाउँमा अहिले अष्ट्रेलिया देखें । अष्ट्रेलियाको ठाउँमा कर्नाली । वाह, मुख्यमन्त्री ज्यू वाह ।

मैले प्रश्न दोहोर्‍याए, ‘मुख्यमन्त्री अविछिन्न ज्यू, कर्नालीको बारेमा मलाई तपाईंकै मुखबाट सुन्न मन छ । प्लीज ।
मुख्यमन्त्रीले घडी हेर्दै भने, ‘तपाईले बुझेको जस्तै हो । बाँकी तपाई घुम्नुस् । बुझनुस् ।

समय १० मिनेट बाँकी नै थियो । हामीले थप अनौपचारिक कुरा गर्‍यौं । मलाई जल यातायात बारे बुझ्न मन लाग्यो । सोध्य । पानी जहाज कसरी सम्भव भयो ?, जहाँ समुन्द्र नै छैन ।

मुख्यमन्त्रीले प्रष्ट पारिदिए, ‘हामी कहाँ एक ऋतुमा त पानी परिरहन्छ । हिमालमा हिउँ छ । दुई ठूला कर्नाली र भेरी नदी छन् । अरु साना खोला पनि छन् । सम्भावना त्यही थियो । सपना देखियो । त्यसलाई साकार बनाइयो । तपाई देख्नुहुन्छ । यो पूर्वपश्चिम जल मार्ग बन्ने तयारीमा छ । अहिले खप्तड-कर्नाली र लुम्बिनि प्रदेशसम्म जोडिएको छ । हामीले कर्नाली र भेरी नदी र वर्षाको शुद्ध पानीलाई पश्चिम-उत्तर बगाइदिएका छौं । जुन समुन्द्र जस्तै छ । तपाईले पनि देख्नुभयो । जसमा पानी जहाँज सम्भव भयो ।

मुख्यमन्त्रीले अब कुरा लम्ब्याए, ‘अर्काे कुरा कर्नाली र भेरीको माथिल्लो भागबाट हामीले अहिलेसम्म १८ हजार मेगावाट विजुली उत्पादन गरेका छौं । केन्द्रीय प्रसारणलाइनको पूर्ण विद्युत पनि यही नै हो । तपाईलाई थाहा छ ? हामीले १३ हजार मेगावाट विद्युत चीन, भारतलाई मात्रै होइन भुटान र बंगलादेशमा बेचेका छौं । जसको ५० प्रतिशत आम्दानी कर्नालीले नै पाउँछ बाँकी केन्द्रमा जान्छ । तपाईंले अध्ययन गर्नुभयो होला । कर्नालीको प्रतिव्यक्ति आय २२ हजार अमेरिकी डलर हो । औषत आयु ९७ वर्ष । हामी कुनैपनि सूचकांकमा पछाडि छैनौ । ‘

यति भनेपछि मुख्यमन्त्रीले समय सकिएको जानकारी दिए । टाटा वाई गर्दै हामी छुटियौं । म कर्नाली बुझ्न मुगु, जुम्ला, हुम्ला पुग्ने निधोका साथ भेरीगंगा स्मार्ट सिटीबाट पानी जहाज चढे ।

म ५ मिनेटमा पुरानो मुकाम वीरेन्द्रनगर पुगे । कार्डबाटै भाडा काटिएछ । ५ रुपैयाँ । अरुभन्दा महँगो पो रैछ ।

वीरेन्द्रनगरबाट एकजना सहयोगी साथ लगाएँ । हामी अधिकांश यात्रा केबलकारबाट गर्ने तयारीमा थियौं । तर, वीरेन्द्रनगरबाट ट्रलिबसहुँदै कालीकोट पुग्यौं । जहाँ विश्वकै नमूना भीर वस्ती रहेछ । कालीकोटमा कर्णाली नदीको भीरको वस्ती हेर्‍यौं । कल्पनाको होइन भौतिक स्वर्ग त्यही रैछ । कर्नालीको छाल माथिमाथिबाट ट्रली बस कुद्यो ।

भीरको वस्तीको अवलोकन पश्चात अरु बुझ्नु आवश्यक ठानिएन । हामी डोल्पा पुग्ने निधो गर्‍यौं । बीचबीचमा केवलकार चढ्दै डोल्पा पुगियो । दुनै एयपोर्ट पुगियो । जहाँ उपल्लो डोल्पामा पनि नमूना एयपोर्ट रैछ । डोल्पामा मस्टोको दर्शन गरेर उपल्लो डोल्पाको अध्ययन गर्न हामी अल्ट्राबाट गयौं । त्यहाँको कणर्ाली जडीबुटी विश्वविद्यालयमा पुग्यौं । विश्वका ३५ देशका विद्यार्थीहरुले अध्ययन गरिरहेका रहेछन् । पुरानो डोल्पा चिनाउने होमस्टे गाउँमा फर्कियौं । कर्नालीमा अब गर्न बाँकी केही छैन भन्नेमा म विश्वस्त भएँ । तर, आफ्नो प्रदेश अझै घुम्न मन लाग्यो ।

डोल्पा पुगेपछि हुम्लाको सिमकोट अन्तर्राष्ट्रय एयरपोर्टको खुबै चर्चा सुनियो । १५ वर्ष अगाडि सिमकोट एयरपोर्ट विश्वकै खतराको सूचीमा थियो । तर, अहिले त यहाँ अनुसन्धान केन्द्र नै रहेछ । विश्वभरका मान्छेहरु अध्ययन गर्न आउँदा रैछन् ।
हुम्लामा हाम्रो बसाइँ लामो भएन । किनभने हामीलाई पूर्ण विश्वास थियो । कर्नालीको सबैभन्दा सुन्दर र विकसित भनिएको जुम्लाको चर्चाले हामीलाई त्यतै तान्यो । हुम्लाबाट जुम्ला पुगियो । जुम्लामा ल्याण्ड नहुँदै अल्ट्राबाट पूरा जुम्ला शहरको अवलोकन गरियो । आकाशै छुने घर । शहरको वरिपरी पुरै स्याउ बगैचा । रातैरातै स्याउका दाना मात्रै देखिने ।

हामी गुठीचौरमा ल्याण्ड भयौं । जुम्लाका त जहाँ गयो त्यही वषर्ाै विताउन मन लाग्ने । तर, समय थिएन । पहिलो रोजाइँ स्वास्थ्य सँस्था थिए । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्यौं । विश्वकै सबैभन्दा सस्तो शुल्कमा एमविविएर र एमडी पढाइ हुने रैछ । विश्वका साढे एक लाख विद्यार्थीहरुले अध्ययन गरिरहेको पायौं । नेपालको सबैभन्दा ठूलो स्वास्थ्य सँस्था रहेछ । मान्छेहरुले नरेश भण्डारीको देनले यो सम्भव भएको बताउँथे । भण्डारी प्रदेशको मन्त्री हुँदै अहिले त केन्द्र सरकारको अर्थ मन्त्री समेत रहेछन् ।

समय अभावका कारण जुम्लाका अरु ठाउँमा नघुमी एकजनासँग जानकारी लियौं । जुम्लामा अन्तर्राष्ट्रिय रंगशाला निर्माणाधीन अवस्थामा रैछ । फुटबल र भलिबलको राष्ट्रिय टिमका क्याप्टेन जुम्लाकै युवा रैछन् । यसले गर्दा पनि रंगशाला निर्माण गर्न दवाव परेको रैछ । विभिन्न धातुका खानी र जडिबुटी प्रशोधन केन्द्र, औषधि उत्पादन उद्योग त कति हो कति । उल्लेख गरिसाध्य छैन । प्रशोधन नगरिकन प्रदेश बाहिर पठाउन कानूनले ने दिदैन रैछ । …

मुगुको रारा तालको बारेमा त पुरानै चर्चा थियो । तर, एकपटक देख्न मन लाग्यो । हामी सिधै गमगढी पुग्यौं । कर्नालीमा पहिलो पटक बसको यात्रा गरियो । अनेक मार्गबाट यात्रा गर्न सकिन्थ्यो । तर, रमाइलोका लागि बसको यात्रा गरेर हामी रारा ताल पुग्यौं ।

एक जना जानकारी मान्छे भेटिए । उनले बेलिविस्तार लाए । औलाले देखाउँदै अलि परको एउटा गगनचुम्मी घर देखाउँदै भने, ‘यो विश्वकै महंगो मानिने गेस्ट हाउस हो, त्यहाँ कर्नालीवासीलाई विशेष छुट छ । तर, विदेशीहरु मात्रै बस्ने गर्छन ।’

हामी रारा नजिक पुग्न केही कठीन भयो । ट्राफिक व्यवस्थापन त सबै सिस्टममै थियो । तरपनि पर्यटकको घुइँचोले पालो कुर्नुपर्ने बाध्यता । एकैछिन मात्रै राराको अवलोकन गरेर फर्कियौं । राराको अवलोकन गर्न पाउनुनै सौभाग्य हो रे । रारालाई भेटेपछि हामी फर्कियौं । बाँकी जाजरकोट र दैलेखमा के होला । रुकुम र सल्यान कस्तो भएहोलान भन्ने कौतुहलता अझै बाँकी थियो ।

एकछिन आराम गरें । मुखबाट दुईवटा शब्द फुत्किए । ‘यार कर्नाली….

म सपनाबाट व्युँझिएँ ।

जय कर्णाली ।

(सपनामा आधारित)

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *