३ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि १७९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
क्विन्स इभेन्ट्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १७९ जना खेलाडीले प्रतियोगिताको लागि नामावली दर्ता गराएको जानकारी दिएको हो । जसमा क्याप्ड सिनियरमा ३० जना, क्याप्ड एज लेभलमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्स प्रालिले असोज ३ गतेदेखि सात दिन असोज ९ गतेसम्म खेलाडी दर्ता खुल्ला गरिएको थियो ।
क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । त्यस्तै, क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ टिममा खेलेका खेलाडीलाई राखिएको छ । त्यस्तै, अनक्याप्ड श्रेणीमा नेपालको सिनियर टिम र उमेर समूहबाट नखेलेका खेलाडीलाई राखिएको छ ।
क्याप्ड सिनियर खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै, क्याप्ड एच लेभलमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम १ लाख ५० हजार तोकिएको छ । त्यस्तै, अनक्याप्ड मा पर्ने खेलाडीको न्युनतम रकम ३० हजारदेखि १ लाखसम्म राखिएको छ ।
पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गर्नुपर्ने छ ।
दर्ता भएका खेलाडीको अक्सन यही असोज १४ गते आइतबार होटल सांग्रिला लाजिम्पाटमा हुनेछ ।
कात्तिक ९ देखि २० गतेसम्म पोखरामा पीपीएल टी-२० क्रिकेट प्रतियोगिता हुदैछ । आयोजकले बिहीबार ६ टिम र ६ मार्की प्लेयरको टुंगो लगाएको थियो ।