समाचार

भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

By purnakhabar

September 21, 2018

५ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हवनवमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको ज्यान गएको छ ।

बनेपा जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारी छन् ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

अनलाइन खबरबाट