८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न ‘क्याटलिस्ट’को भूमिका खेल्न तयार रहेको बताएका छन् ।
कांग्रेसको काठमाडौं जिल्ला भेलामा महामन्त्री कोइरालाले पार्टीमा एकता कायम गर्न आफूलाई प्रयोग गर्न आग्रह गरे । ‘सभापति ज्यूलाई भन्न चाहन्छु, पार्टीलाई एक गरेर अघि बढ्नुस्, यसमै हाम्रो भलो छ’ उनले भने, ‘म क्याटलिस्टको भूमिका निर्वाह गर्न सक्छु । पार्टीलाई एक बनाउन मलाई प्रयोग गर्नुस् ।’
कांग्रेसको शक्ति इतिहास, विचार र कार्यकर्ता भएको भन्दै उनले निराध नहुन आग्रह गरे । तर, पार्टी प्रष्ट नीति लिएर अघि बढ्नु पर्नेमा उनको जोड छ ।
कम्युनिष्टहरुको विचार नै कुन्ठित हुने भन्दै उनीले वामपन्थीले विकास गर्नेमा शंका गरे । ‘विकासको कडी कांग्रेसले नै समान्छ, वामपन्थीहरुको भन्न सकिँदैन’ कांग्रेस महामन्त्री कोइरालाले भने, ‘भन्न त समृद्ध राष्ट्र बनाउँछौं भन्छन् तर, उनीहरुको विचार नै यति कुन्ठित हुन्छ । गरिबलाई गरिब नै राख्छन् ।’