हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू : गृहमन्त्रीको प्रहरीलाई निर्देशन

By purnakhabar

April 17, 2018

काठमाण्डौ । सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ।

मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्।

‘सिन्डिकेट तोडेपछि व्यवसायी आन्दोलनमा जान सक्छन्, यसबाट सर्वसाधारणलाई मर्का पर्न नदिन बस कब्जामा लिएर सञ्चालन गर्ने गरी तयार बस्नू भनी प्रहरीलाई निर्देशन दिइएको छ,’ गृहमन्त्रीका प्रेस सहयोगी किरण भट्टराईले सेतोपाटीसँग भने।

सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिने उनले बताए।

गृहसचिव प्रेमकुमार राईले पनि सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवा अवरुद्ध पार्ने कार्य सह्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ,’ गृहसचिव राईले भने, ‘समितिहरुले हड्ताल गरेर यातायात बन्द गरे अब सिन्डिकेटवालाहरुलाई हिरासतमा राख्छौं।

-सेतोपाटीबाट