समाचार

सरकारलाई घुँडा टेकाउने भन्दै यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा

By purnakhabar

April 09, 2018

२६ चैत, काठमाडौं । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुले भेला गरेर आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन् ।

यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ ।

 

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘हाम्रा मागबारे जानकारी दिँदै पहिले प्रधानमन्त्री, यातायात व्यवस्था मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौं । यति गर्दा पनि माग पुरा नभए चरणवद्ध आन्दोलनमा जान्छौं,’ सिटौलाले भने, ‘यो पटकको आन्दोलन हदैसम्मको हुन्छ ।’

परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको छ ।

सरकारले माग पुरा नगरे आन्दोलनका कस्ता कार्यक्रम ल्याउनु हुन्छ भन्ने प्रश्नमा महासचिव सिटौलाले यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने बताए । ‘एकपक्षीय ढंगबाट संशोधन भएको निर्देशिका मान्दैनौं । यसलाई कायम राख्ने हो भने आन्दोलनको विकल्प छैन’ सिटौलाले भने, ‘हामी नेपाल बन्दै गर्न पनि तयार छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिन्डकेटका सामू विगतका सरकारले झै घुँडा नटेक्ने बताउँदै आएका छन् । त्यही बलमा यातायात व्यवस्था विभागले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि सिन्डिकेटधारी यातायात व्यवसायीहरू भने आतंकित बनेका छन् ।

Source: onlinekhabar.com