शैक्षिक गतिविधि

निजी विद्यालय बन्द गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं ९ पुस। सरकारले गठन गरेको विज्ञ टोलीले संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेकाले अब निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको छ । त्यतिमात्रै होइन विद्यार्थीहरुलाई चिट चोर्न पनि सिकाउनुपर्ने सुझाव पनि दिइएको छ ।

पुस ४ गते शिक्षाविदहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको प्रतिवेदनको मस्यौदामा शिशु कक्षादेखि आठसम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क कायम गरेको अवस्थामा शशुल्क पठनपाठन गराउने निजी विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ ।

प्रतिवेदनमा सेवाको उद्देश्यले स्थापित निजी विद्यालय अहिले लाभ केन्द्रित हुँदै गएको, नियमन गर्ने सरकारी निकाय कमजोर हुँदा विद्यालय शिक्षामा व्यापारीकरण भएको र शिक्षाको गुणस्तरीय विकास हुन नसकेको उल्लेख छ ।

‘चिट चोर्न पनि सिकाउनुपर्ने’
शिक्षाविदले सबै तहका विद्यार्थीलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको नागरिकमा समाचार छ । शिक्षाविद डा. विद्यानाथ कोइराला संयोजक रहेको १५ सदस्यीय शिवाविदको विज्ञ टोलीले तयार पारेको सुझाव मस्यौदामा यस्तो सुझाव दिइएको हो ।

शिक्षाविद कोइराला एमफिल पढाउँदाको आफ्नो १० वर्षको अनुभवले यस्तो सुझाव दिन उपयुक्त लागेको बताउँछन् । ‘हामीले चिट नचोर्न दबाव दियौं भने विद्यार्थीले जबरजस्ती चिट चोर्नेतर्फ ध्यान केन्द्रित गर्छन्,’ यदी उनीहरुलाई यसमा खुला छाडियो भने उनीहरु यसतर्फ कम ध्यान दिन्छन्,’ कोइरालाले भने ।

तर, विज्ञ टोलीका सदस्यसचिव समेत रहेका शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने यो उच्च शिक्षा अध्ययनमा ओपन र प्रयोगात्मक किसिमको परीक्षा लक्षित सुझाव भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *